दुईदिने राष्ट्रिय अभियानमार्फत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

 संवाददाता    २०८३, १८ कार्तिक मंगलवार १०:५७     30 जनाले पढ़िसके



Spread the love

सरकारले आज र भोलि दुई दिन बालबालिकालाई लक्षित गरेर ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ।

कार्यक्रमअन्तर्गत मंगलबार र बुधबार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए।

अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उनले आग्रह गरे।

कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन्। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विस २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विस २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ।