दार्चुला बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो, ७ जना अझै बेपत्ता

 बाढी पहिरो     २०७९, २५ भाद्र शनिबार १२:१९     107 जनाले पढ़िसके



Spread the love

कैलाली । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो। गए राति परेको अविरल वर्षाले जिल्लाको नौगाड गाउँपालिका- २ सल्ला गाउँमा आएको बाढी र पहिरोमा परेर पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली- ३ की मानमती कार्की, महाकाली- २ का नन्दराम बोहरा, नौगाड- २ का मोहनराम पार्की, नौगाड- १ का जानकी ठगुन्ना र धनमती ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएर चार जनाको र बाढीले बगाएर एक जनाको मृत्यु भएको हो । बाढी र पहिरोमा अझै सात जना बेपत्ता छन् ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार र बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन् । महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाएको छ । महाकालीमा आएको बाढीले लस्कु नदीको बहाव छेक्दा वरपरका घर जोखिममा परेका छन् ।

प्रहरीका अनुसार लस्कु खोलाको बाढीले डुङ्ग्री गाउँ जोड्ने झोलुङ्गे पुल बगाउनुका साथै निर्माणाधीन पक्की पुलमा समेत क्षति पुगेको छ ।