राष्ट्रिय लोक दोहोरी महोत्सव आजबाट सुरू, ६७ समूहबीच प्रतिस्पर्धा हुँदै

 संवाददाता    २०७८, २६ चैत्र शनिबार २०:०२     128 जनाले पढ़िसके



Spread the love

काठमाडौँ: राष्ट्रिय लोक दोहोरी महोत्सव -२०७८ आजदेखि सुरु भएको छ। काठमाडौँको टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म चल्नेछ। उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गरेका हुन्।

प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पुरस्कार प्रदान गरिने छ। त्यस्तै, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित पुरस्कार पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्नेछन्।

महोत्सवमा हरेक दिन विभिन्न विधाका चर्चित कलाकारहरूको समेत प्रस्तुति रहनेछ। प्रतियोगितामा पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रिता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायक रहेका छन्।

महोत्सव उद्घाटनका अवसरमा लोक गीतमार्फत योगदान पुर्‍याउने अग्रज कलाकारहरुलाई सम्मान समेत गरिएको छ। देउडा गायक नन्दकृष्ण जोशी, भोजपुरी गायक ध्रुवसिंह ठकुरी, थारु गायक मणिराम करिया मगरिया, गायिका तीर्थकुमारी थापा, मैथली गायक वीरेन्द्रकुमार झा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर विरही गुरुङलाई सम्मान गरिएको छ। स्वर्गीय बुद्धिकृष्ण लामिछाने, रत्न बानियाँ, जंगबहादुर गन्धर्व, भगवती दंगाललाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ।