भीम रावलको गृहजिल्लामा ओलीनिकटका बोहरा अध्यक्ष निर्वाचित

 #एमाले महाधिवेशन     २०७८, २९ पुष बिहीबार ०९:१९     134 जनाले पढ़िसके



Spread the love

काठमाडौं- नेकपा (एमाले)का नेता भीम रावलको गृहजिल्ला अछामको अध्यक्षमा चन्द्र बोहरा निर्वाचित भएका छन्। आफ्ना प्रतिस्पर्धी प्रकाश शाहलाई १ सय २४ मतले पराजित गर्दै बोहरा निर्वाचित भएका हुन्। बोहरा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकटका हुन्। बोहराले ४ सय ३१ मत प्राप्त गरे भने शाहले ३ सय ७ मत प्राप्त गरे। अध्यक्षबाहेकका अन्य पदाधिकारीमा भने शाह प्यानलका उम्मेदवार निर्वाचित भएका छन्। बोहरा ओली र शाहले रावलपक्षमा प्यानल नै बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। उपाध्यक्ष पदमा भीमबहादुर बिष्टलाई पराजित गर्दै बलबहादुर कुँवर विजयी भएका छन्। कुँवरले ३ सय ८६ मत पाउँदा विष्टले ३ सय १३ मत पाएका छन्।

सचिवमा आदर्श साउँदलाई १९५ मतले पछि पार्दै भीम रावल विजयी भएका छन्। रावलले ४ सय ५३ मत पाउँदा साउँदले २ सय ५८ मत पाएका छन्।

यस्तै, प्रेमबहादुर महर र डम्बरबहादुर बिसी विजयी भएका छन्। बिसी २ सय ६० र महर २ सय ५२ मतका साथ विजयी भएका हुन्। नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७४९ जनाले मतदान गरेका थिए। अन्य सदस्य पदको मतगणना राति नै सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।