काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित अधिकांश स्थानहरूमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको भएको छ । काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात भइरहेको हो ।
गएरातीदेखि उपत्यकामा हल्का वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । मौसम बदली भएसँगै घटेको तापमानबीच काठमाडौँ आसपासका उच्च भूभागमा पनि हिमपात हुन सक्ने अनुमान छ । ‘चन्द्रागिरि र नगरकोटलगायत काठमाडौँ उपत्यका आसपासका डाँडाहरूमा हल्का हिमपातको सम्भावना छ,’ उनले भने, ‘गएरातीदेखि अहिले चाहिँ हिमपातको रेकर्ड छैन ।’
मौसमविद् पौडेलका अनुसार यो प्रणाली नेपालबाट बाहिरिएपछि तराईका केही स्थानमा बाक्लो हुस्सु लाग्न सक्छ । ‘हिउँदयाममा सात-आठवटा सिस्टम (प्रणाली) आउँछन् पश्चिम क्षेत्रबाट । तीमध्ये हाल चौथोले प्रभाव पारेको अवस्था छ । यो प्रक्रियालाई नियमित रूपमा लिनुपर्ने हुन्छ,’ पौडेलले भने ।
बिहीबारबाट यो प्रणाली रोकिने हुँदा क्रमशः घाम लाग्न थाल्ने र मौसम सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ ।