देशभरका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु।

 संवाददाता    २०७८, २१ कार्तिक आईतवार १७:१२     54 जनाले पढ़िसके



Spread the love

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । सल्यान, मकवानपुर, मोरङ, सर्लाही, महोत्तरी, झापा, सुनसरी र ताप्लेजुङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु भएको हो । सल्यानको कपुरकोट गाउँपालिका-५ खारखोलास्थित सडकमा सल्यान खलंगाबाट दाङ तुलसिपुरतर्फ जाँदै गरेको रा.१ ख २५५२ नम्बरको बस सडकदेखि अन्दाजी २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यान, ईलाका प्रहरी कार्यालय लुहाम, प्रहरी चौकी कपुरकोट तथा सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २८ जनालाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल, शारदा मेट्रो अस्पताल, कान्तिपुर अस्पताल र परोपकार अस्पतालतर्फ पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।मोरङको केराबारी गाउँपालिका-९ बेलचौरीस्थित भित्री सडकमा को.४० प १७२७ नम्बरको मोटरसाइकल र बा.१० च ४३०० नम्बरको स्कारपियो एक-आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका-२ बस्ने ३० वर्षीय कमल कार्की र मोटरसाइकलमा सवार मोरङ पथरी बस्ने ५५ वर्षीय कुल बहादुर सुबेदीको घटनास्थलमै र मोटरसाइकलमा सवार लेटाङ नगरपालिका-२ बस्ने ४५ वर्षीया सिता कार्कीको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी मोरङकै ग्रामथान गाउँपालिका-२ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट को.१२ प १६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा मोटरसाइकल चालक कटहरी गाउँपालिका-५ बस्ने २१ वर्षीय आशिष सरदारको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

मोरङको रंगेली नगरपालिका-६ पिपलस्थित सडकमा साईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा साईकलयात्री सुनवर्षी नगरपालिका-६ पटियापाडा बस्ने ३० वर्षीय सत्रुघन साहको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि रंगेली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

उता सर्लाहीको बागमती नगरपालिका-१२ स्थित सडकमा स.१० प ४०७९ नम्बरको मोटरसाइकल र बा.५५ प १५७८ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स.१० प ४०७९ नम्बरको मोटरसाइकलमा सवार चन्द्रपुर नगरपालिका-४ बस्ने ४० वर्षीय सुशिल काफ्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्मैया मोडेल अस्पताल हुँदै चपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको कर्मैया मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

महोत्तरीको गौशला नगरपालिका-४ रजखोरस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरमा देउसी भैलो खेल्दै रजखोरबाट रामनगरतर्फ जाने क्रममा ट्याक्टरबाट लडेर गौशाला नगरपालिका-४ रजखोर बस्ने २२ वर्षीय अजय रानाको शनिबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका-१३ तेलिबारीस्थित सडकमा प्रदेश-१-०४- ०१४ प ३३४५ नम्बरको मोटरसाइकल र प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा प्रदेश-१-०४- ०१४ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार मेचिनगर नगरपालिका-८ बस्ने १८ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारी चोकस्थित सडकमा प्रदेश न.१-०१-००१ ख ३५३० नम्बरको बसले हाल नम्बर नखुलेको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय अल्ताप मिया र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय गियासुदिन मियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल ईनरुवा हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ मिल्केस्थित सडकमा प्र-१-००१ झ ०२२४ नम्बरको एम्बुलेन्स सडकदेखि अन्दाजी ६० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा एम्बुलेन्समा सवार सोही ठाउँ बस्ने १६ वर्षीया हेमकला लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक लगायत ६ जनालाई उपचारको लागि धरानतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।