गगन थापामाथि निगरानी राख्न कुनै निर्देशन नआएको सीआईबी प्रमुखको भनाइ

 संवाददाता    २०८३, २० कार्तिक बिहीबार १०:५३     1  जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रहरीले पक्राउ गर्ने हल्ला व्यापक छ, तर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हालसम्म कतैबाट त्यस्तो आदेश आएको छैन ।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीलाई नेपाल प्रेसले सम्पर्क गर्दा उनले आफू र आफ्नो कार्यालयलाई पनि त्यस विषयमा कुनै आदेश नआएको बताए । अन्य कुनै कार्यालयमा त्यसबारे केही सूचना वा गतिविधि भए त्यसबारे आफूलाई जानकारी नहुने चतुर्वेदीले बताए ।

कांग्रेस सभापति थापाको सचिवालयले भने दुई दिनदेखि सादा पोशाकका व्यक्तिहरुले निगरानी बढेको जनाएको छ । उनको सचिवालयका एक सदस्यलाई यसबारे प्रश्न गर्दा केही अपरिचित मानिसहरु मोटरसाइकलमा पछि लाग्ने गरेको बताए । राइड शेयरिङजस्ता देखिने मोटरसाइकलहरु अघिपछि घुम्न थालेको उनको भनाइ छ । सानेपास्थित केन्द्रीय कार्यालयमा पनि सादा पोशाकका अपरिचित व्यक्तिको आवतजावत बढेको उनले बताए ।

प्रहरीस्रोतका अनुसार बुधबार पदमुक्त गरिएका आईजीपी दानबहादुर कार्कीले पदमुक्त हुनुअगावै ‘माथिको आदेश’ भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सभापति थापामाथि निगरानी राख्न भनेका थिए । तर, बिहीबार बिहान कार्यालय समय सुरु भएपछि कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले सहकर्मीलाई दिने बिफ्रिङमा त्यससम्बन्धमा कुनै निर्देशन दिएनन् । त्यस्तो निर्देशन बुधबार पनि दिएका थिएनन् ।