अमेरकाको मध्यावधि निर्वाचनको जारी मतगणनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीले संसद्मा बहुमत गुमाउने सम्भावना बढ्दै गएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा चुनावी परिणामबारे लेखेको पहिलो पहिलो प्रतिक्रियाले त्यही संकेत गरेको छ।
ट्रम्पले लेखेका छन्, ‘म चुनावी मैदानमा छैन। मैले चुनाव लडेको भए हामीले भारी मतले जित्ने थियौँ।’
ट्रम्पले आफू चुनावमा उम्मेदवार भएको भए पार्टीको स्थिति यस्तो नहुने र भारी मतले जित्ने दाबी गरेका छन्।
अर्थात् उनले हारको दोष रिपब्लिकन उम्मेदवारहरूलाई लगाउन खोजेका छन्।
धेरै रिपब्लिकन नेताहरू पहिले नै मध्यावधि चुनावमा ट्रम्पको अडानबाट असन्तुष्ट थिए।
प्रतिनिधि सभा र सिनेटमा नियन्त्रण गुमाउने सम्भावनाका साथ ट्रम्पले दिएको अभिव्यक्तिले रिपब्लिकन पार्टीभित्र विभाजन अझ बढाउन सक्ने आकलन गरिएको छ।
हाल संसद्का दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीले बहुमत छ।
यदि पार्टीले यीमध्ये एउटा मात्र सदनमा बहुमत गुमायो भने ट्रम्पलाई आफ्नो एजेन्डासँग सम्बन्धित कानुन पारित गराउन गाह्रो हुनेछ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको नियन्त्रण खोस्ने सम्भावना छ।
४३५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।
सीबीएसका अनुसार डेमोक्र्याटिक पार्टी कम्तीमा २१८ सिट जित्ने बाटोमा छन् भने रिपब्लिकन पार्टीले कम्तीमा १६० सिट जित्ने अनुमान गरिएको छ।
अमेरिकी कंग्रेसमा बहुमतको गणित
अमेरिकी कंग्रेस (संसद) का दुवै सदनमा बहुमत हासिल गर्न फरक-फरक संख्यामा सिट आवश्यक पर्छ।
सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ।
सिनेटमा कुल १०० सिट छन्। हाल रिपब्लिकन पार्टीसँग ५३ सिट छन् भने डेमोक्र्याटिक पार्टीसँग ४५ सिट छन्। अनि डेमोक्र्याटिकसँग काम गर्ने दुई स्वतन्त्र सांसद छन्। यसले दुई दलबिच ५३-४७ सिटको अनुपात सिर्जना गरेको छ।
बहुमतका लागि ५१ सदस्यको समर्थन चाहिन्छ। दुवै दलसँग ५०-५० सिट भए भने उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिन सक्छन्।
यसपटक सिनेटका ३५ सिटका लागि मतदान हुँदै छ। यीमध्ये २२ रिपब्लिकन पार्टीको र १३ डेमोक्र्याटिक पार्टीका छन्। डेमोक्र्याटिकहरूलाई बहुमत हासिल गर्न कम्तीमा ४ सिट आवश्यक छ।
हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमतका लागि २१८ सिट आवश्यक
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा कुल ४३५ सिट छन्। बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।
यसपटक हाउसका सबै ४३५ सिटका लागि चुनाव हुँदै छ, जसको अर्थ प्रत्येक सिटमा प्रतिस्पर्धा हुनेछ। २१८ वा सोभन्दा बढी सिट जित्ने पार्टीले हाउसमा बहुमत प्राप्त गर्नेछ।
यसरी मध्यावधि चुनावबाट रिपब्लिकन पार्टी दुवै सदनमा बहुमत कायम राख्न चाहन्छ भने डेमोक्र्याट पार्टी पनि दुवै सदनमा बहुमत प्राप्त गर्ने प्रयासमा छ।
मध्यावधि चुनावबाट ३६ राज्यका गभर्नर पनि चुनिँदै छन्।
प्रारम्भिक मतपरिणाममा धेरै राज्यमा डेमोक्र्याटिक पार्टीले अग्रता लिइरहेको छ। अर्थात् राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पछि परेको छ।
सीबीएस न्युजले जारी गरेको सूची यस्तो छ:
एरिजोना: डेमोक्र्याटिक पार्टी बलियो स्थितिमा
आयोवा: डेमोक्र्याटिक पार्टी बलियो स्थितिमा
कान्सास: नजिकको प्रतिस्पर्धा
मिसिगन: डेमोक्र्याटिक पार्टी बलियो स्थितिमा
मिनेसोटा: डेमोक्र्याटिक पार्टी बलियो स्थितिमा
नेब्रास्का: नजिकको प्रतिस्पर्धा
न्यु मेक्सिको: डेमोक्र्याटिक पार्टी बलियो स्थितिमा
दक्षिण डकोटा: रिपब्लिकन पार्टीले जित्ने सम्भावना
टेक्सास: नजिकको प्रतिस्पर्धा
विस्कन्सिन: नजिकको प्रतिस्पर्धा