बालेनले भारतीय विदेश सचिवलाई भेट्ने भएपछि बदलियो भेटघाटको प्रोटोकल

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार १२:१२     3 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय विदेश सचिव विक्रम मिस्रीसँग आज भेटवार्ता गर्ने भएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आइपुगेका हुन् ।

उनले नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । साथै नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँग भेटको समय भने निश्चित भइनसकेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले बताइन् ।

यसअघि बालेनले कुनै पनि देशका विदेशमन्त्री भन्दा तलका प्रतिनिधिलाई नभेट्ने प्रोटोकल बनाएका थिए । भारतीय विदेश सचिवसँग नभेट्ने अडान लिएपछि मिस्रीको नेपाल भ्रमण नै स्थगित भएको थियो । गत मे महिनामा मिस्री दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका थिए । तर प्रधानमन्त्री भेट्न नपाउने भएपछि अन्तिम समयमा उनको भ्रमण स्थगित गरियो । यसले नेपाल र भारतको सम्बन्धमा नै चिसोपना बढेको थियो ।

प्रधानमन्त्री बालेनले यसअघि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियासम्बन्धी विशेष दूत सर्जियो गोरसँग पनि भेट गरेका थिएनन् । विदेशी अधिकारीहरूसँगको भेटघाटमा प्रधानमन्त्रीले उच्च तहका पदाधिकारीलाई मात्र प्राथमिकता दिने प्रोटोकल बनाइएको थियो । तर यो प्रोटोकल अहिले भताभूंग भइसकेको छ । उक्त प्रोटोकलविपरित प्रधानमन्त्री बालेनले भारत र चीन दुवै देशका राजदूतहरूसँग वान टु वान भेटिसकेका छन् ।

मिस्रीको अहिलेको भ्रमणलाई प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमणको तयारीसँग पनि जोडेर हेरिएको छ । बालेनले नोभेम्बरको अन्तिमतिर भारत भ्रमण गर्ने तयारी भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो बालेनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ ।

भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, सीमापार कनेक्टिभिटी र लगानीलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । त्यस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा विवाद पनि दुई देशबीचको संवेदनशील विषयका रूपमा रहँदै आएको छ । भारत र चीनले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सहमति गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाएको थियो ।

मिस्रीको भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका समग्र पक्षको समीक्षा हुने र आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।