मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको आइजीपीमा डा.मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेलगत्तै उनी गृह मन्त्रालयमा बोलाइएका छन् । मन्त्रालयस्रोतले जनाएअनुसार उनलाई दिने नियुक्तिपत्र तयार भइसकेको छ ।
आजै दर्ज्यानी चिह्न (फुली) लगाएर पद बहाली गर्न मन्त्रालयले अनुरोध गरिरहेको स्रोतले बतायो । तर धार्मिक विधि पूरा गर्नुपर्ने कारण बिहीबारमात्रै पद बहाली गर्ने चाहना उनले व्यक्त गरेका छन् ।
यो समाचार लेख्दा नवनियुक्त आईजी डा. केसी गृहमन्त्री सुधन गुरुङ, सचिव केदारनाथ शर्मासहित छलफलकै क्रममा छन् । उनीसँगै रहेका उनका स्टाफ अफिसर इन्स्पेक्टर धर्मराज जोशीलाई सम्पर्क गर्दा स्टाण्डबाई रहेको बताए ।
प्रहरी प्रधान कार्यालयमा नवनियुक्त आईजीपीको आजै पदबहाली हुने सम्भावनासँगै त्यहाँ कार्यरत अधिकृतहरु पनि स्ट्याण्डबाई रहेको प्रधान कार्यालय स्रोतले जनाएको छ ।
मन्त्रालयले नियुक्तिपत्र बुझ्दै दर्ज्यानी चिह्न पनि लगाउन अनुरोध गरिरहेको छ । यदि उनले नियुक्तिपत्र बुझेर दर्ज्यानी चिह्न अर्को दिन लगाए पनि महानिरीक्षकका रुपमा काम गर्ने अधिकार राख्छन् ।