चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा अनसन बसेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार जिल्ला अस्पताल इलाममा भर्ना भएका केसीलाई आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौँ ल्याएको हो। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुने केसीको सचिवालयले जनाएको छ।

कात्तिक १४ गते राति अस्पताल भर्ना भएका केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कमी रहेको र पिसाबमा ‘एसिटोन’को मात्रा बढेको पाइएको थियो।
पूर्वाधारबिनै प्रतिष्ठानहरूमा चिकित्सा शिक्षा पढाउन अनुमति दिएको विरोधमा केसीले कात्तिक १३ गतेदेखि २५औँ सत्याग्रह सुरु गरेका थिए। स्वार्थको द्वन्द्व देखिने निर्णयहरू खारेज गर्नुपर्ने उनको माग छ।

चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएसमा मात्रै ११० सिट बढाएको छ। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५०, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट वृद्धि गर्ने निर्णय गरेपछि डा केसीले विरोध गरेका थिए।
उनले सेनाको प्रतिष्ठानमा बढाइएको सिट तत्काल फिर्ता गर्न माग राखेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएको भन्दै डा. केसीले गत बिहीबार इलामको नारायण मन्दिरमा अनशन सुरु गरेका थिए।