मालपोतसम्बन्धी अधिकार स्थानीय तहलाई दिने तयारीमा सरकार

 संवाददाता    २०८३, १७ कार्तिक सोमबार ११:००     16 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री बालेन्द्र शाहले भूमि प्रशासनका सेवाहरु एक महिनाभित्र स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारीमा सरकार जुटेको बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमा लेख्दै भूमि प्रशासन सेवाहरु स्थानीय तहमा हस्तानतरणको प्रक्रिया अघि बढाइसकिएको र ३३ पालिकाले सफतापूर्वक सञ्चालन गरिरहेको पनि बताएका छन् ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्था बमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ,’ उनले भनेका छन्, ‘हालसम्म विभिन्न ३३ वटा स्थानीय तहबाट सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ । यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ ।’

उनले सरकारले स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने बताएका छन् ।

उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबीचको दुरी घटाउनु हो । राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म सहजरूपमा पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो ।’

उनले सरकार आफ्नो शासकीय सुधारसम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यमा जुटेको बताएका छन् ।

उनले सरकारको यस पहलबाट स्थानीय तहले भूमि प्रशासन सम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने बताएका छन् ।