डोल्पामा प्रतिकूल मौसमका कारण अलपत्र ६ पर्यटकको हेलिकप्टरमार्फत उद्धार

 संवाददाता    २०८३, १६ कार्तिक आईतवार १०:४३     13 जनाले पढ़िसके



Spread the love

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले जारी गरेको जरुरी सूचनाअनुसार उनीहरू केही दिनदेखि भएको भारी हिमपातका कारण उक्त क्षेत्रमा फसेका हुन्।
प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको जानकारी प्राप्त गरेको थियो। कात्तिक १५ गते हेलिकप्टरमार्फत उद्धार भइरहेको सूचनामा उल्लेख छ।

उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष रहेका छन् । उनीहरूमा मौमिता हाल्डर (Moumita Halder), पियाली कोली (Piyali Koley), जजला त्रिवेद कुमार (Jajala Trived Kumar), आदित्य सिंघा (Aditya Singha), डिप्लिना बिस्वास (Diplina Biswas) र राजेश डे (Rajesh De) छन्। उनीहरू सबै भारतीय हुन्।

उनीहरू डोल्पाको शे–फोक्सुण्डो ताल भ्रमणका लागि आएका थिए। भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उनीहरू फसेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको जानकारी दिइएको छ।

मौसम प्रतिकूलताका कारण थप जोखिम सिर्जना हुन सक्ने भन्दै प्रशासनले सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।