प्रधानमन्त्री पत्नीको पहिरनबारे सूर्य थापाको विवादास्पद अभिव्यक्ति

 संवाददाता    २०८३, १७ कार्तिक सोमबार ११:२३     36 जनाले पढ़िसके



Spread the love

एमाले नेता सूर्य थापाले प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको ड्रेसअपलाई लिएर सार्वजनिक टिप्पणी गरेका छन् । उनले पञ्चायतकालीन ‘पम्फादेवी’ को प्रसंग जोड्दै प्रधानमन्त्री पत्नीको पहिरनमाथि टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा थापाले पञ्चायतकालको अन्त्यतिर ‘पम्फादेवी’ को मुजा पछाडि पारेर सारी लगाएको विषय निकै चर्चामा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री पत्नी काफ्ले हालै एक कार्यक्रममा रेड कार्पेटमा हिँडेको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोही तस्विर फेसबुमा राख्दै थापा लेख्छन्, ‘अहिले निलो सल लगाउँदै हिँड्ने नयाँ भेरियन्ट सार्वजनिक भयो । महेन्द्रको नक्कल गर्दै रिमिक्समा गोल्डस्टार सेतो जुत्ता, कालो टिसर्ट र कोट लगाएर संसदमा जाने अभ्यास त छँदै थियो । रातो कार्पेटमा यो निलो सल लतार्दै खच्याङखच्याङ हिँड्ने पनि पम्फादेवीकै नक्कल हो की अरु कसैको प्रभाव छ ?’

थापाले प्रधानमन्त्री र फर्स्ट लेडीको ड्रेसकोड निर्धारित हुनुपर्छ भन्ने मान्यता राखेर यसो भनिरहेको बताएका छन् ।

को हुन् पम्फादेवी ?

पञ्चायतकालमा ‘पम्फादेवी’ नाम रानी ऐश्वर्यसँग जोडिएर चर्चामा आउने गरेको थियो । तत्कालीन दरबारको शक्ति, प्रभाव र आर्थिक अपारदर्शितासम्बन्धी आरोपसँग पनि यो नाम जोडिने गरेको थियो ।

पञ्चायतको अन्तिम समय र २०४६ सालको जनआन्दोलनताका यो नाम निकै चर्चित भएको थियो । तत्कालीन दरबारको आर्थिक गतिविधि र शक्तिको दुरुपयोगबारे उठेका आरोपसँग पम्फादेवीको नाम जोडिन्थ्यो । रानी ऐश्वर्यले स्विट्जरल्यान्डको बैंकमा ‘पम्फादेवी’ नाममा ठूलो रकम राखेको भन्ने हल्ला फैलिएको थियो । पञ्चायतविरोधी आन्दोलनमा ‘पम्फादेवी मुर्दावाद’ जस्ता नारा लाग्थे ।

सार्वजनिक वृत्तमा यो नाम रानी ऐश्वर्यसँग जोडिए पनि स्विस बैंकमा उक्त नाममा ठूलो रकम रहेको भन्ने दाबीको ठोस सार्वजनिक प्रमाण भेटिएको छैन ।