जेनजी आन्दोलनले अशान्त बन्यो जर्मनी, धेरै सहरमा तोडफोड र लुटपाट

 संवाददाता    २०८३, १६ कार्तिक आईतवार ११:०५     18 जनाले पढ़िसके



Spread the love

जर्मनीमा जेनजी (जेन जेड) को विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ। धेरै सहरमा झडप र लुटपाट भएका छन्।

जर्मनीमा महँगीविरुद्ध शान्तिपूर्ण रूपमा सुरु भएको युवाको प्रदर्शन हिंस्रक बन्द गएको हो।

यस क्रममा जर्मनीको फ्र्याङ्कफर्टमा शनिबार राति पसलमा लुटपाट र प्रहरीसँग झडप भएको छ। अन्य सहरमा पनि प्रदर्शनकारी र प्रहरीबिच झडप भएका छन्।

जर्मनीको आर्थिक राजधानी फ्र्याङ्कफर्टका साथै बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसाका घटना भएका छन्।

प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको बताएको छ।

प्रदर्शनकारीहरूले आपत्‌कालीन सेवाका कर्मचारीहरूलाई पनि पटाका, ढुंगा र बोतलले हानेका थिए।

हजारौँ मानिसले ‘जेन जेड रेगेल्ट’ नामक अभियान समूहको ब्यानरमा प्रदर्शनमा भाग लिएका छन्। जसको अर्थ हो- ‘अब जेन जेडले जिम्मेवारी लिनेछन्।’

विद्यालयहरूमा कम कोष, जीवनयापनको बढ्दो लागत, सरकारी खर्च कटौती र सैन्य सेवाको विरोधमा आन्दोलन थालिएको थियो।

फ्रान्समा भएको आन्दोलनपछि जर्मनीमा पनि विरोध प्रदर्शन सुरु गरिएको हो।

फ्रान्समा पनि शनिबार ३ लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए।

समाचार एजेन्सी एएफपीका अनुसार प्रहरीले फ्र्याङ्कफर्टस्थित सपिङ सडकको ठुलो भाग बन्द गरेको छ।

प्रहरीका एक प्रवक्ताले सहरभरि धेरै मानिसलाई पक्राउ गरिएको बताएका छन्।

फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा जम्मा १८ हजार मानिस सहभागी थिए। यो संख्या आयोजकहरूको वेबसाइटमा अनुमान गरिएको संख्याको लगभग आधा थियो।

जेनरल जेड रेगाल्टकी प्रवक्ता लेना फ्रेडरिकले भनिन्, ‘विरोध प्रदर्शनको उद्देश्य युद्ध र जबरजस्तीको सट्टा शान्ति र स्वतन्त्रताका लागि लड्नु हो।’

उनले थपिन्, ‘हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा राम्रो स्वास्थ्य र शिक्षा प्रणाली हो। हामी अनिवार्य सैन्य सेवाका विरुद्धमा छौँ र यसको बोझ अझ समान रूपमा बाँडफाँट गर्न चाहन्छौँ।’

विरोध प्रदर्शन दिनभर धेरै हदसम्म शान्तिपूर्ण रहे पनि रात पर्दै जाँदा हिंसात्मक बनेको बीबीसीले उल्लेख गरेको छ।