भारी वर्षाको पूर्वानुमानपछि गण्डकीका जलविद्युत् आयोजनालाई उच्च सतर्कता अपनाउन निर्देशन

 संवाददाता    २०८३, ९ आश्विन शुक्रबार १२:३४     37 जनाले पढ़िसके



Spread the love

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत् आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी धेरै प्रभावित हुने प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागले गण्डकी बेसिनका सबै हाइड्रोलाई हाइ अलर्टमा राखेको हो।

विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत प्राधिकरणअन्तर्गतका आयोजना र निजी क्षेत्रमा सञ्चालित आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको बताएका छन्।

उनकाअनुसार विद्युत प्राधिकरणले आफ्ना सबै आयोजनाहरुलाई मौसमको निरन्तर जानकारी लिइ सोहीअनुसारको सुरक्षा उपाय अपनाउन निर्देशन दिइएको छ भने निजी क्षेत्रका तर्फबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले समन्वय गरिरहेको छ।

बिहीबार बेलुका बसेको विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिक्दै मौसम प्रणालीको निरन्तर अपडेट लिएर गण्डकीलगायत सम्भावित ठाउँका जलविद्युत र विद्युत पूर्वाधारको सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका थिए।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनाहरुलाई २४सै घण्टा उच्च सतर्कतामा राखिएको बताएका छन्। प्राधिकरणबाट निरन्तर समन्वय भइरहेको र निजी क्षेत्रबाट इप्पानले प्राधिकरणमा प्रतिनिधि नै खटाई समन्वय भइरहेको जानकारी दिएका छन्।

भोटेकोशी बाढीबाट विद्युत पूर्वाधार, जलविद्युत आयोजना र सबस्टेसनमा क्षति पुगेर १० प्रतिशत बिजुली प्रणाली बाहिर गएपछि सरकारले अब आउनसक्ने विपत्तिको सामना गर्न पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिएको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए।