डोल्पाको जुफाल एयरपोर्टमा आज बिहान अवतरणका क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ।
१३ जना यात्रुसहित नेपालगन्जबाट गएको जहाज जुफाल एयरपोर्टमा अवतरण गर्ने क्रममा पछाडि दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो।
यद्यपि सबै यात्रु सकुशल रहेको डोल्पा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईंले जानकारी दिए।
‘जहाजको एउटा पांग्रामा समस्या देखिएको रहेछ, तर सबै जना सकुशल हुनुहुन्छ’, उनले भने।
उक्त जहाज आज बिहान ८:२५ बजे डोल्पा एयरपोर्टमा अवतरण गरेको थियो।
जहाजमा ७ जना विदेशी र ६ नेपाली गरी १३ यात्रु थिए। सबै जना सकुशल छन्।