एसियाडमा नेपालको विजयी सुरुवात, खगेन्द्रको शानदार जित

 संवाददाता    २०८३, ७ आश्विन बुधबार ११:०१     42 जनाले पढ़िसके



Spread the love

नेपालका खेलाडी खगेन्द्र रोका मगरले जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत बक्सिङको प्रारम्भिक चरणमा जित हात पारेका छन्।

निशिओ जिम्न्यासियममा बुधबार भएको ६० केजी तौल समूहमा खगेन्द्रले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५-० को स्कोरमा पराजित गरेका हुन्।

जारी एसियाडमा नेपाली खेलाडीको यो पहिलो जित हो।

एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ। आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ।

नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ खेलाडी ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ। समूह चरणमा चिनियाँ ताइपेई, नेपाल, श्रीलङ्का र थाइल्यान्ड छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कास्यपदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ । नेपालले यसअघि समूहको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरिसकेको छ।

आज चिनियाँ ताइपेईलाई हराउनसके नेपालको सेमिफाइनल यात्रा थप सहज बन्नेछ। महिला कबड्डीसँगै आज नेपालका खेलाडीले पौडी, कराते, स्क्वास, टेबलटेनिस र उसुमा प्रतिस्पर्धा गर्ने तालिका छ।

नेपालले जारी एसियाली खेलकुदमा अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन। नेपालबाट प्रतियोगितामा २१ खेलमा १३५ जना खेलाडी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए।