गुगलमाथि ७० अर्बको जरिवाना किन ?

 संवाददाता    २०८३, ६ आश्विन मंगलवार १३:०३     20 जनाले पढ़िसके



Spread the love

आयरल्यान्डको डेटा संरक्षण आयोग (डीपीसी)ले लोकेसन डेटा प्रयोग गरेको विषयमा गुगलमाथि ४० करोड ३० लाख युरो (करिब ७० अर्ब ९२ करोड ८० लाख रुपैयाँ) जरिवाना गरेको छ ।

यो आयरिस डेटा सुरक्षा निकायले लगाएको सबैभन्दा ठूलो जरिवानामध्ये एक हो । टेक कम्पनी गुगलविरुद्धको अनुसन्धान करिब ६ वर्षअघि सुरु भएको थियो ।

युरोपका विभिन्न उपभोक्ता अधिकारसम्बन्धी संस्थाले गुगलविरुद्ध उजुरी गरेपछि अनुसन्धान अघि बढाइएको थियो ।

डीपीसीले सोमबार जारी गरेको विज्ञप्तिमा अनुसन्धानका क्रममा गुगलले लोकेसन डेटा प्रयोग गर्दा त्यससम्बन्धी प्रक्रिया ‘कानुनी, निष्पक्ष र पारदर्शी’ नभएको पाइएको जनाएको छ ।

अनुसन्धान गुगलका तीनवटा सेवामा लोकेसन डेटा प्रयोगसँग सम्बन्धित थियो । तीमध्ये वेब एन्ड एप एक्टिभिटी, लोकेसन हिस्ट्री र लोकेसन एक्युरेसी रहेका छन् । अनुसन्धानमा २५ मे २०१८ देखि ४ फेब्रुअरी २०२० सम्म लोकेसन डेटा प्रयोग गरिएको विषयलाई समेटिएको थियो ।

लोकेसन डेटा भन्नाले कुनै व्यक्तिको भौगोलिक स्थान पत्ता लगाउन सकिने कुनै पनि प्रकारको डेटालाई बुझिन्छ ।

डीपीसीका उपआयुक्त ग्राहम डोयलले लोकेसन डेटाबाट व्यक्तिबारे धेरै जानकारी प्राप्त गर्न सकिने र त्यसमा अत्यन्तै निजी जानकारीसमेत हुन सक्ने बताएका छन् ।

डीपीसीको रिपोर्टअनुसार गुगलले डेटा प्रयोग गर्ने क्रममा जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) को उल्लंघन गरेको थियो ।

जीडीपीआर युरोपेली संघको व्यक्तिगत डेटा संरक्षणसम्बन्धी कानुन हो, जुन २५ मे २०१८ देखि लागू भएको थियो ।

डोयलका अनुसार जीडीपीआरले युरोपेली आर्थिक क्षेत्रभरका मानिसको व्यक्तिगत डेटालाई व्यापक सुरक्षा प्रदान गर्छ । यसअनुसार व्यक्तिगत डेटा कानुनी, निष्पक्ष र पारदर्शी तरिकाले प्रयोग गर्नुपर्ने हुन्छ ।

गुगलले के भन्यो ?

गुगलले भने यो विषय पुराना नीतिसँग सम्बन्धित रहेको र ती नीतिहरू अहिले परिवर्तन भइसकेको जनाएको छ ।

गुगलले विज्ञप्तिमा भनेको छ, ‘यो मामला पुराना नीतिहरूसँग सम्बन्धित छ, जसलाई अहिले अद्यावधिक गरिसकिएको छ । सन् २०१९ पछि हामीले आफ्ना प्रक्रियामा उल्लेख्य परिवर्तन गरेका छौँ र लोकेसन डेटा व्यवस्थापन गर्न सहज हुने नयाँ उपकरणहरू ल्याएका छौँ ।’

गुगलका अनुसार पछिल्ला वर्षमा डेटा सुरक्षालाई थप बलियो बनाउन विभिन्न कदम चालिएका छन् । यसमा ‘अटो–डिलिट कन्ट्रोल’ पनि समावेश छ ।

यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो खातामा रहेको डेटा प्रत्येक तीन, १८ वा ३६ महिनामा स्वतः मेटिने गरी सेट गर्न सक्छन् ।

कम्पनीले व्यक्तिगत डेटा सुरक्षाका लागि अन्य उपायसमेत लागू गरिएको जनाएको छ । त्यसमध्ये ‘सिम्पल एड्स म्यानेजमेन्ट’ पनि रहेको छ, जसबाट प्रयोगकर्ताले आफूलाई लक्षित गरी देखाइने व्यक्तिगत विज्ञापन पूर्ण रूपमा बन्द गर्न सक्छन् ।

गुगलले लोकेसन डेटा प्रयोग र खाता सेटिङ्सबारे विस्तृत जानकारी एउटै स्थानमा उपलब्ध गराएर पारदर्शिता बढाएको दाबीसमेत गरेको छ ।