काठमाडौं र मधेशको दूरी छोट्याउन निर्माण भइरहेको काठमाडौँ–तराई/मधेश द्रुतमार्गको म्याद तीन वर्ष थप भएको छ।
गत साउन २० गतेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको म्याद थप गर्ने निर्णय गरेको हो।
रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम भण्डारीले द्रुतमार्गको म्याद तीन वर्षका लागि थप भएको जानकारी दिए।
अब द्रुतमार्ग निर्माण सम्पन्न गर्न सेनाले २०८६ चैत मसान्तसम्मको म्याद पाएको छ।
यसअघि द्रुतमार्गको म्याद २०८३ चैतसम्म थियो। ८ महिनाभन्दा कम अवधिमा आधाभन्दा धेरै काम बाँकी थियो। यस्तोमा निर्धारित समयमा काम सम्पन्न नहुने देखिएपछि म्याद थप भएको हो।
सेनाले सुशीला कार्की नेतृत्वको सरकारकै पालामा म्याद थपका लागि प्रस्ताव पेस गरेको थियो। तत्कालीन समयमा कार्की सरकारले म्याद थप गरेको थिएन।
द्रुतमार्गको म्याद थप गर्ने विषयमा एक महिनाअघि निर्णय भए पनि यो विषय हालसम्म गोप्य नै छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि मन्त्रिपरिषद्को निर्णय सुनाउँदा यस विषयमा जानकारी दिएका थिएनन्।
म्याद थपको विषयमा नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेतसँग बुझ्दा उनले यस विषयमा हालसम्म आधिकारिक जानकारी प्राप्त नभएको नेपालखबरलाई बताए।
तेस्रो पटक म्याद थप
द्रुतमार्गको जिम्मा नेपाली सेनाले प्राप्त गरेयता दुई पटक म्याद थप भइसकेको छ।
यसअघि सरकारले २०७४ वैशाख २१ गते सेनालाई २०७८ वैशाखभित्र द्रुतमार्ग सम्पन्न गर्ने गरी जिम्मा दिएको थियो।
तर डीपीआर निर्माणमा हुन गएको विलम्बका कारण पहिलोपटक २०८१ मंसिरसम्म म्याद थप गरिएको थियो। उक्त समयमा काम नसकिएपछि थपिएको म्याद २०८३ चैतसम्म छ। सेनाले द्रुतमार्ग ढिलाइ हुनुको प्रमुख कारणका रुपमा खोकना–बुङमती ६.५ किलोमिटरलाई देखाउने गरेको छ।
खोकना–डुकुछाप खण्डमा स्थानीयहरुले धार्मिक, सांस्कृतिक तथा साम्प्रदायिक कारण देखाई द्रुतमार्ग निर्माणमा अवरोध सिर्जना गरिरहेका छन्। स्थानीयको अवरोधका कारण द्रुतमार्ग निर्माणमा उल्लेखनीय प्रगति हासिल हुन नसकेको सेनाको भनाइ छ।
भौतिक प्रगति ५० प्रतिशत
नेपाली सेनाका अनुसार भदौ मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१.४७ प्रतिशत छ।
७१ किलोमिटर लामो द्रुतमार्गको लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ। भदौ मसान्तसम्म ९४ अर्ब २२ करोड खर्च भएको सेनाले जानकारी दिएको छ।
आयोजनलाई १३ वटा प्याकेजमा विभान गरी सेनालाई निर्माण कार्य अघि बढाइरहेको छ। प्याकेज ११ अन्तर्गत पर्ने खोकना–बुङमती खण्ड जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन।
द्रुतमार्गमा ११.२ किलोमिटर लम्बाइको ७ वटा सुरुङमार्ग निर्माण भइरहेको छ। जसमा धेद्रे र लेनडाँडा सुरुङ ब्रेक थ्रु भइसकेको छ भने महादेवटार सुरुङको बायाँतर्फ ‘ब्रेक थ्रु’ हुँदा दायाँतर्फ पनि ‘ब्रेक थ्रु’को अन्तिम चरणमा छ। देवीचौर, सिसौटार, चन्द्रमा भीर र मौरी भीर सुरुङमार्गमा काम भइरहेको छ।
आयोजनाका लागि ८९ स्थानमा पुल निर्माण हुनेछ। तीमध्ये ८५ पुलको खरिद सम्झौता भई निर्माणको चरणमा छ। निर्माणाधीन अधिकांश पुलहरुको फाउन्डेसनको कार्य सम्पन्न भई सुपरस्ट्रक्चरको कार्य भइरहेको छ। जसमा ५७ पुलको फाउन्डेसन, ३८ पुलको सबस्ट्रक्चर र १६ पुलको सुपरस्ट्रक्चरको काम सम्पन्न भएको सेनाले जानकारी दिएको छ।