सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनालगायतका काम सरकारले युद्धस्तरमा गरिरहेको बताएका छन्।
बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले वन तथा पर्यावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, गृहलगायत विभिन्न मन्त्रालय, विभाग र सरकारी संयन्त्रहरू विपद् व्यवस्थापनमा सक्रिय रहेको बताए। सरकारले विपद्पछि सबैभन्दा पहिले खोजी तथा उद्धारलाई प्राथमिकता दिएको उनको भनाइ थियो।
‘विपद् व्यवस्थापनमा वन तथा वातावरण, गृह, महिला तथा बालबालिका लगायत विभिन्न मन्त्रालय, विभाग र सम्बन्धित निकायहरू संलग्न छन्। सबै निकायले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहे पनि उनीहरूबीच आवश्यक समन्वय निरन्तर भइरहेको छ,’ उनले भने।
अहिले राहत वितरणको काम भइरहेको र त्यसमा केही कमीकमजोरी हुन सक्ने भए पनि भौगोलिक जटिलताका बाबजुद सम्बन्धित निकायहरूले काम गरिरहेको उनले बताए। अब पुनर्स्थापना र पुनर्निर्माणको चरण बाँकी रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रालय, विभाग तथा सम्बन्धित प्राधिकरणले योजना निर्माणदेखि फिल्डमा काम गरिरहेको उनले बताए।
‘सरकारले प्रारम्भमा खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढायो। त्यसपछि राहत वितरणको काम भइरहेको छ,’ उनले भने, ‘भौगोलिक जटिलताका कारण केही व्यावहारिक कठिनाइ र कमजोरी देखिन सक्ने भए पनि राहत कार्य निरन्तर जारी छ। अब पुनर्स्थापना र पुनर्निर्माणको दीर्घकालीन चरणमा सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरू सक्रिय रूपमा योजना निर्माण र कार्यान्वयनमा जुटिरहेका छन्।’
नीतिगत निर्णयदेखि कार्यान्वयन तहसम्मका काम निरन्तर भइरहेको उनको दाबी छ। सरकारको कामकारबाही सार्वजनिक नै रहेको भन्दै सरकार अप्ठ्यारो परेको ठाउँमा पुगिरहेको र आफ्ना नीतिअनुसार काम गरिरहेको बताए।
‘नीतिगत निर्णयदेखि फिल्डस्तरको कामसम्म सम्बन्धित निकायहरू निरन्तर सक्रिय छन्। विपद्को अवस्थामा सरकार आवश्यक ठाउँमा पुग्ने र आफ्नो जिम्मेवारीअनुसार काम गर्ने प्रक्रिया जारी रहेको छ,’ उलने भने।
रास्वपाभित्रैबाट सरकारको कामप्रति उठ्ने आलोचनाबारे लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो भएकाले नेताहरूले आफ्ना धारणा स्वतन्त्र रूपमा राख्ने गरेको प्रतिक्रिया दिए।