भारत भ्रमणका क्रममा अर्थमन्त्रीका दुई उच्चस्तरीय भेटवार्ता, तीन कार्यक्रममा सम्बोधन

 संवाददाता    २०८३, ३१ भाद्र बुधबार १३:४८     0 View



Spread the love

भारत भ्रमणमा जान लागेको अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शुक्रबार र शनिबार तीन वटा उच्चस्तरीय संवादमा सहभागी हुने कार्यक्रम तय भएको छ।

अर्थमन्त्री वाग्ले असोज १ गते बिहीबार भारत भ्रमणमा जाँदै छन्। अर्थमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

भारतकी अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ देखि ३ सम्म भारत भ्रमणमा गर्दै छन्। भारत भ्रमणका रहँदा वाग्लेले समकक्षी सीतारमणसहित विदेशमन्त्री एस जयशंकरसँग भेट गर्ने तय भइसकेको छ।

त्यसबाहेक, भारतको वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग पनि भेटवार्ताको प्रयास भइरहेको अर्थमन्त्रीको सचिवालयले बताएको छ।
अर्थमन्त्री वाग्लेको भारत भ्रमण आज बस्ने मन्त्रिपरिषदबाट स्वीकृत हुँदै छ।

अर्थमन्त्री वाग्ले बिहीबार बिहान नेपाल एअरलायन्सको उडानमार्फत नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ। उनी दिल्ली पुगेपछि बिहीबार नै अर्थमन्त्री सीतारमणसहित विदेशमन्त्री एस जयशंकरसँग भेट गर्ने कार्यक्रम छ।

अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, भारतमा रहँदा वाग्लेले भारतका कूटनीतिक क्षेत्रका व्यक्तिहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

शुक्रबार बिहान वाग्लेले इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने राउन्डटेबललाई सम्बोधन गर्ने तय भएको छ। उक्त कार्यक्रम भारतका पूर्वविदेश सचिव श्याम शरणले आयोजना गर्न लागेका हुन्। उनी नेपालका लागि भारतका पूर्वराजदूत हुन्। कार्यक्रममा भारतका कूटनीतिक विज्ञ र परराष्ट्र मामिलाका जानकारहरू सहभागी हुने बताइएको छ।

शनिबार भने कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)ले आयोजना गर्ने कार्यक्रममा अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्। उक्त कार्यक्रममा पनि अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रममा भने भारतका प्रतिष्ठित उद्योगीहरू सहभागी हुने जनाइएको छ। यस कार्यक्रममा वाग्लेले नेपालमा लगानी प्रवद्र्धनका लागि नयाँ सरकारले लिएको नीतिबारे चर्चा गर्नेछन्।

त्यसैगरी, दिल्ली स्कुल अफ इकोनोमिक्सको अर्थशास्त्र विभागले आयोजना गर्ने विकास नीतिसम्बन्धी कार्यक्रममा पनि अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने भएका छन्। त्यस कार्यक्रममा विश्वको अर्थतन्त्र र एसियाको पछिल्लो अवस्थाबारे वाग्लेले प्रवचन दिने जनाइएको छ।

भारत भ्रमणमा रहँदा अर्थमन्त्री वाग्लेले विशेषगरी नेपालको आर्थिक विकास, व्यवसाय विस्तार र लगानी तथा कूटनीतिका विषयमा केन्द्रित भएर छलफल हुनेसचिवालयले बताएको छ।

भारतका अर्थमन्त्रीसँगको भेटमा विशेषगरी नेपालमा भदौ १० मा आएको बाढीले पुर्‍याएको क्षतिको पुननिर्माणमा सहयोगबारे छलफल हुने भनिएको छ। अर्थमन्त्रीको भारत भ्रमणको मुख्य एजेन्डा कनेक्टिभिटी, व्यापार, पारवहन तथा व्यावसायिक सहकार्य रहेको उनको सचिवालयले बताएको छ।

वाग्लेको भ्रमण टोलीमा उनीसहित परराष्ट्र मन्त्रालयको प्रतिनिधि, अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख र सचिवालयका दुई जना सदस्य रहनेछन्।