देशमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानमा मूल्य वृद्धि भएको भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले संसदमै सरकारको ध्यानाकषण गराएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद रमेश प्रसाईँले आफ्नै नेतृत्वका सरकार र मन्त्रीहरूप्रति व्यङ्ग गरे।
‘एकातिर देश विपतले छटपटाइरहेको बेला अर्काेतिर बजार उदण्ड भयो र मेरै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगायो,’ प्रसाईँले भने, ‘प्याज, चिनी, चामल र तेल हरेक चिजको भाउ बढ्यो। चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन। तर, हामीजस्ताको त ढाड सेकियो त।’
सांसद प्रसाईँले गौरी कुमारी यादवलाई विस्थापित गरेर नयाँ उद्योग मन्त्री बनेका दीपककुमार साहले कालोबजारी नियन्त्रणका लागि अग्रसरता लिनुपर्ने बताए।
‘नयाँ उद्योगमन्त्री आउनुभएको छ, म उहाँलाई शुभकामना भन्न चाहन्छु। उहाँको भूमिका यसपटक नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो होइनकि, यो कालोबजारी नियन्त्रण गर्नका लागि साच्चिकै नयाँ किसिमको भूमिका निर्वाह गर्न सक्नुहोस्,’उनले थपे।
यस्तै, सांसद प्रसाइँले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात प्रयोग गर्दा भोग्नुपरेको सास्तीबारे पनि कुरा उठाए। ‘राजधानीको सवारी साधनमा भेडाबाख्रा कोचिए जस्तो क्षमताभन्दा बढी मान्छे कोचेर ओसारिँदैछ। यात्रुहरूले दैनिक जीवनमा दु:ख भोग्नुपरेको छ। यसतर्फ म गृहमन्त्रालय र पूर्वाधार मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
उनले प्रश्न गरे, ‘राजधानीको ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य नपुगेको हो र?’
मंगलबारको संसद बैठकमा पनि रास्वपा सांसद बदनकुमार भण्डारीले महंगी नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए।
पछिल्ला दिन दैनिक उपभोग्य बस्तुमा व्यापक मूल्यवृद्धि भएको छ।