प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारले जनाएको ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरेका छन्।
भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए। उनले जलवायु परिवर्तनको असरस्वरुप यस घटनाको सामना गर्नुपरेको उल्लेख गरे।
जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए।
त्यस्तै, नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरबारे पनि छलफल भएको छ। प्रधानमन्त्री शाहले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताए।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्। उनले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको उल्लेख गरिन्।
त्यस्तै, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराइन्।