आगलागीपछि भागदौड मच्चिँदा कङ्गोमा २४ विद्यार्थीको ज्यान गयो

 संवाददाता    २०८३, २६ भाद्र शुक्रबार १३:१२     0 View



Spread the love

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको विद्रोहीको नियन्त्रणमा रहेको बुकावु सहरमा दुईवटा विद्यालयमा आगलागी भएपछि बच्न खोज्दा भएको भागदौडमा कम्तीमा २४ विद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार आगलागीमा केही वयस्कको समेत मृत्यु भएको छ ।

बाक्लो बस्ती रहेको कदुतु क्षेत्रमा भएको घटनामा मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

आगलागीबाट घाइते भएका तथा घटनाबाट बचेकाहरूलाई नजिकका अस्पतालमा लगिएको छ । घटनास्थलबाट सार्वजनिक भएका भिडियोमा अस्पतालको भुइँमा बालबालिका पीडाले छटपटाइरहेको देखिएको छ ।

आगलागीमा करिब ३०० घर जलेर नष्ट भएका छन् । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।

अधिकारीहरूले बिहीबार साँझ मृतकको संख्या २४ पुगेको पुष्टि गरेका छन् ।

यसअघि सार्वजनिक भएका विवरणको पनि उनीहरूले पुष्टि गरेका छन् । यद्यपि, भग्नावशेषमा अझै मानिसहरू फसेको हुन सक्ने भएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूको अनुमान छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा साना बालबालिका जमिनमा अचेत अवस्थामा लडिरहेको देखिएको छ ।

रोयटर्सका अनुसार एक प्रत्यक्षदर्शीले दिउँसोसम्म आगो नियन्त्रणमा आइसकेको बताए । तर, जलेका संरचना र टिनका छानाले बनेका घरका भग्नावशेषबाट अझै धुवाँ निस्किरहेको उनले बताएका छन् ।

दक्षिण किभु प्रान्तको राजधानी बुकावु पहाडी क्षेत्रमा अवस्थित कङ्गोको सबैभन्दा घना बस्ती भएका सहरमध्ये एक हो । एम२३ विद्रोही समूहले गत फेब्रुअरीमा बुकावुमाथि कब्जा गरेको थियो ।