तातोपानी नाका खुल्ने टुंगो छैन, कोरलाबाट सामान ल्याउन ४८१ किमि यात्रा

 संवाददाता    २०८३, ३१ भाद्र बुधबार १२:०१     1  जनाले पढ़िसके



Spread the love

नेपाल–चीन प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ बाढीले अवरुद्ध भइरहँदा अर्को महत्त्वपूर्ण तातोपानी नाकामा पनि अनिश्चितता छाएको छ।

चीनले कहिले खुल्छ भन्ने सूचना नेपाललाई नदिएकाले तातोपानी नाका सञ्चालन अन्योलमा परेको हो।

रसुवागढी–केरुङ नाका बन्द भएलगत्तै चीनले नेपाललाई पत्र पठाउँदै तातोपानी नाका बन्द गर्ने जानकारी दिएको थियो। नाका बन्द गर्नुको कारण भने चिनियाँ पक्षले खुलाएको छैन।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले तातोपानी नाका बन्द गर्नुको कारण थाहा पाउन नसकेको जानकारी दिए।

रसुवागढी नाका अवरुद्ध भएलगत्तै तातोपानी र कोरला नाकामार्फत केरुङमा फसेका नेपाली पर्यटकसहित मालवाहक कन्टेनर पठाउन महावाणिज्य दूतावसले पहल गरेको थियो। पर्यटकहरुलाई तातोपानी नाकाबाट फर्किन दिइए पनि मालवाहक कन्टेनरलाई भने अनुमति दिइएको छैन।

सोसँगै अहिले नेपाल–चीन स्थलगत व्यापारका लागि मुस्ताङको कोरला नाका प्रयोग भइरहेको छ।

‘रसुवागढी नाका बन्द रहेको अवस्थामा तातोपानी र कोरला दुवै नाका प्रयोग गर्न पाइए सजिलो हुने थियो। यसका लागि चीनसँग औपचारिक अनुरोध गरिएको छ। तर तातोपानी नाका खोल्ने विषयमा जवाफ आएको छैन’, निरौलाले भने।

साथै तातोपानी नाका बन्द गर्नुको कारण पनि आफूले जानकारी पाउन नसकेको निरौलाले बताए।
चीनले भदौ १४ गते पत्र पठाउँदै अस्थायी रुपमा तातोपानी नाका बन्द गरेको जानकारी दिएको थियो।

सेप्टेम्बर ४ अर्थात् भदौ १९ गते चाइनाडेलीले चीनले नेपालसँगको प्रमुख स्थल व्यापारिक नाका झाङ्मुमा शनिबारदेखि भन्सार तथा सीमा जाँचसम्बन्धी संरचना परिवर्तन गर्न लागेको समाचार लेखेको थियो।

‘उच्च हिमाली क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नाका सञ्चालनको संरचना परिवर्तन गर्न लागिएको चीनको स्थानीय सरकारले जनाएको छ। शिगात्सेअन्तर्गत सिजाङ स्वायत्त क्षेत्रको न्यालाममा रहेको झाङ्मु नाका हिमालयको गहिरो उपत्यकामा अवस्थित छ। चीन र नेपालबीचको प्रमुख स्थलमार्गका रूपमा रहेको यो क्षेत्रमा पहाडी भूगोलका कारण पहिरो तथा अन्य भौगर्भिक जोखिम रहँदै आएको छ’, चाइनाडेलीले लेखेको छ।

स्थानीय सरकारका अनुसार यात्रु तथा उनीहरूको सामानको सुरक्षा सुनिश्चित गर्दै नाकाबाट हुने नियमित आवतजावत र सीमा जाँचलाई व्यवस्थित बनाउन भन्सार तथा सीमा निरीक्षण संरचना परिवर्तन गर्न लागिएको हो।

नयाँ व्यवस्थाअनुसार नेपाल–चीन सीमापार गर्ने यात्रलाई तोकिएका मार्गबाट मात्र आवतजावत गराइनेछ। उनीहरूलाई तोकिएको क्षेत्रबाट बाहिर जान, आफूखुसी हिँडडुल गर्न, बाटोमा सवारीसाधन चढ्न वा ओर्लन तथा तोकिएको स्थानबाहेक बाहिरका व्यक्तिसँग सम्पर्क गर्न अनुमति दिइनेछैन।

त्यस्तै, अनुमति नलिई नियन्त्रित सडकखण्डमा सवारीसाधन रोक्न, यात्रु चढाउन वा ओराल्न तथा मालसामान लोड–अनलोड गर्न पनि रोक लगाइनेछ। नाकासँग सम्बन्धित नभएका व्यक्ति तथा सवारीसाधनलाई समेत उक्त क्षेत्रमा प्रवेश गर्न नदिइने अधिकारीहरूले बताएको चाइनाडेलीको रिपोर्टमा उल्लेख छ।

तातोपानी भन्सार कार्यालय प्रमुख दीपेन्द्रप्रकाश गिरीले भदौ १४ गतेदेखि तातोपानी नाकाबाट मालवाहक कन्टेनर जाँचपास नभएको जानकारी दिए। तर यात्रुवाहक सवारी भने पास भइरहेको छ। गिरीले पनि तातोपानी नाका बन्द हुनुको कारण जानकारीमा नभएको बताए।

रसुवागढी नाका अवरुद्ध र तातोपानी नाका बन्द हुँदा नेपाल–चीन स्थलत व्यापारमा मुस्ताङको कोरला प्रयोग भइरहेको छ। भौगोलिक रुपमा कोरला नाका रसुवागढी र तातोपानी नाकाको तुलनामा राजधानी काठमाडौंबाट लामो दूरीमा पर्छ।

कोरला–काठमाडौं दूरी करिब ४८१ किलोमिटर, काठमाडौं–तातोपानी दूरी करिब १२४ किलोमिटर र काठमाडौं–रसुवागढी दूरी करिब १६० किलोमिटर छ।

साथै कोरला नाका पनि केरुङ हुँदै जानुपर्छ। कोरला–केरुङको दूरी करिब ६०० किलोमिटर छ।

दूरी, लागत, समय, पूर्वाधारलगायत धेरै विषयले नेपाल–चीन व्यापारका लागि कोरलाभन्दा तातोपानी नाका उपयुक्त हुने नेपाल हिमालय सीमापार वाणिज्य संघका निवर्तमान सचिव भक्त पराजुली बताउँछन्।

‘केरुङबाट कोरला पुग्नै एक दिन लाग्छ। पर्याप्त पूर्वाधार र जनशक्ति नहुँदा भन्सार जाँचपास एक दिन गर्न सकिँदैन। सडकको अवस्था र सवारीका कारण काठमाडौं सामान ल्याउन थप तीन दिन लाग्छ’, पराजुलीले भने, ‘समय र दूरीका कारण ढुवानी भाडा महँगो भएको छ।’

कोरला नाका प्रयोग गरेर काठमाडौं सामान ल्याउन हप्ता दिन लाग्ने गर्छ भने तातोपानी नाका प्रयोग गर्न सके एकै दिनमा चीनको खासाबाट ल्याउन सकिन्छ।

कोरला नाकामा चीनतर्फ अत्याधुनिक भन्सार कार्यालय निर्माण भए पनि नेपालतर्फ भने पूर्वाधार निर्माण भइसकेको छैन। कोरला नाकाबाट १०–१२ किलोमिटरको दूरीमा रहेको नेचुङमा भन्सार कार्यालय छ। अस्थायी संरचनामा दिनभर भन्सार जाँचपासका कार्य गरेर कर्मचारी साँझ नेचुङ फर्किने गरेका छन्।