सेयरबजारमा फेरि गिरावट, अघिल्लो दिनको वृद्धिपछि २१ अंकले घट्यो

 संवाददाता    २०८३, ३१ भाद्र बुधबार १६:१२     10 जनाले पढ़िसके



Spread the love

सेयरबजारले फेरि पुरानै लय समातेको छ। बुधबार नेप्से २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा झरेको हो।

मंगलबार सेयर बजार ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुग्नुका साथै पछिल्लो २ महिनायताकै सर्वाधिक कारोबार भएको थियो।

यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ८ अर्ब पुगेको कारोबार रकम बुधबार ५ अर्ब ३८ करोडमा झरेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २ करोड नाघेको कारोबार कित्ता संख्या डेढ करोडमा समेटिएको छ।

सरकारले सोमबार बजार सुधार गर्ने प्रतिबद्धतासहित कार्ययोजना ल्याएपछि मंगलबार उच्च अंकले बढे पनि बुधबार बजारले पुरानै लयमा जाने संकेत गरेको छ।

बुधबारको कारोबारमा ४२ वटा सेयर मात्रै बढेका छन्। २२५ वटाको मूल्य घटेको छ भने १२ वटा अघिल्लो मूल्यमा कारोबार भएका छन्।

यस दिन अधिकतम बढावट दर ६.३७ प्रतिशत मात्र छ। त्यसैगरी गिरावट दर पनि ७.७३ प्रतिशतसम्म रहेको नेप्सेले जनाएको छ।

आज अधिकतम ३७ करोडसम्मको कारोबार भएको छ। अघिल्लो दिन सबै समूहमा हरियाली छाएकामा आज सबै राताम्य छन्।