बारा जिल्लाको कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई रातभर खोजतलास गरी सकुशल फेला पारिएको छ।
कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५:३० बजे आफ्नै घर अगाडिबाट हराएकी थिइन्।
बालिकाका हजुरबुवा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा जानकारी गराएपछि तत्काल खोजतलास सुरु गरिएको थियो।
बालिकाको खोजीका लागि रातभर सक्रिय रुपमा विभिन्न समुहमा प्रहरी टोली परिचालन गर्नुका साथै कुकुरसहितको प्रहरी टोली समेत परिचालन गरिएको थियो।
आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका –२६ सिस्वास्थित बाटोमा बालिकालाई सकुशल फेला पारिएको हो।
बिहान ११ बजे बालिकालाई उनका बुबा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको छ।