जापानको आइची र नागोयामा २०औँ एसियाड आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ। एसियाडको मिति नजिकिँदै गर्दा खेलाडी र प्रशिक्षक अन्तिम तयारीमा व्यस्त छन्।
एसियाडका लागि राष्ट्रिय खेलकुद परिषद्ले २२ खेलको टुङ्गो लगाइसकेको छ। जसमा महिला ५६ र पुरुष ८० गरी १ सय ३६ खेलाडी र ३२ प्रशिक्षकसहित कुल १ सय ६८ जनाले नेपालको प्रतिनिधित्व गर्नेछन्।
यो अघिल्लो संस्करणभन्दा ६६ खेलाडी कम हो। यसअघि वि.सं. २०८० मा चीनको हाङजाओमा भएको १९औँ एसियाली खेलकुदमा २९ खेलका समूहगत र एकल गरी कुल २ सय ३४ खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए।
यो पटक सहभागी हुन लागेका २२ मध्ये ९ खेलमा मात्र खेलाडीले वैदेशिक प्रशिक्षणको अवसर पाएका छन्। त्योबाहेक अन्य खेलका खेलाडी भने काठमाडौं उपत्यकामा नै उपलब्ध भौतिक पूर्वाधार र सीमित स्रोत साधनमा प्रशिक्षणमा व्यस्त छन्।
कुन खेलबाट कति खेलाडी?
२०औँ एसियाडमा आर्चरीमा एक महिला र एक पुरुष खेलाडी छन्। एथ्लेटिक्समा २ महिला र ४ पुरुष गरी ६ जना, ब्याडमिन्टनमा समान २ जना (महिला र पुरुष) खेलाडी, बक्सिङमा ३ महिला र ४ पुरुष गरी कुल ७ जना, क्यानो स्लालममा २ जना (पुरुष खेलाडी), पुरुष क्रिकेटमा १५ जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।
साइक्लिङमा समान १ महिला र पुरुष खेलाडी, डान्स एन्ड स्पोर्ट्समा १ पुरुष, गल्फमा १ महिला र ३ पुरुष खेलाडी, जुडोमा समान ३ जना महिला र पुरुष खेलाडी, कबड्डीमा महिला र पुरुष १२/१२ जनाले खेल्नेछन्।
करातेतर्फ ५ महिला र ३ पुरुष गरी कुल ८, स्केटबोर्डतर्फ २ जना (पुरुष), सफ्ट टेनिसमा १ महिला र ३ पुरुष गरी ४ जना, स्क्वासमा समान एक महिला र पुरुष खेलाडी, स्विमिङमा २ महिला र ३ पुरुष गरी कुल ५ खेलाडी, टेबल टेनिसमा समान ३ महिला र पुरुष गरी कुल ६ जना सहभागी हुँदै छन्।
तेक्वान्दोमा २ पुरुष, टेनिसमा २ महिला र ३ पुरुष गरी कुल ५, महिला भलिबलमा १२ खेलाडी, रेस्लिङमा २ महिला र ४ पुरुष खेलाडी गरी कुल ६ र वुसुतर्फ ३ महिला र ८ पुरुष गरी कुल ११ गरी जम्मा १ सय ३६ खेलाडीले स्पर्धा गर्दै छन्।
यी २२ खेलबाहेक छनोट भएर पनि ई–स्पोर्ट्सका खेलाडीले खेल्न पाएनन्। दुई फरक संघको अस्तित्वको लडाइँमा खेलाडीहरु परेपछि उनीहरुले एसियाडमा छनोट भएर पनि बाहिरिनुपर्यो।
यी २२ मध्ये ९ खेलका खेलाडीहरु वैदेशिक प्रशिक्षणमा रहेको राष्ट्रिय टिमको तयारी हेरिरहेका दिपक श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘बक्सिङ, कुस्ती, स्विमिङ, टेनिस, कबड्डी र साइक्लिङका खेलाडीहरु भारतमा प्रशिक्षण गरिरहेका छन्। गल्फका खेलाडी २ फरक देशमा र वुसुको टोलीले १ महिना चीनमा प्रशिक्षण गरेर स्वदेश फर्किसकेको छ।’
नियमित सहभागिता, आउँदैन उत्कृष्ट नतिजा
सन् १९५१ मा भारतमा भएको पहिलो संस्करणदेखि २०२६ को २०औँ एसियाडसम्म आइपुग्दा नेपालको सहभागिता नियमित छ। तर नतिजा भने सन्तोषजनक छैन। पदकका हिसाबले हेर्ने हो भने त एसियाडमा नेपालको सहभागिता नैै ठूलो बन्दै आइरहेको छ।
अघिल्लो संस्करणमा नेपालले २ पदक मात्र जितेको थियो। करातेकी एरिका गुरुङले रजत पदक जित्दै नेपाली खेलकुदलाई ठूलो गुन लगाएकी थिइन्। एरिकाले नेपाललाई २५ वर्षपछि व्यक्तिगत स्पर्धामा रजत पदक दिलाएकी थिइन्।
त्यसअघि महिला कबड्डी टोलीले पहिलो सहभागितामा नै कांस्य पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो।
एसियाडको ७५ वर्षे इतिहासमा नेपालले अहिलेसम्म ३ रजत र २३ कांस्य पदक मात्र जितेको छ। एसियाडमा अधिकांश खेल सहभागितामा नै सीमित बनेका छन्।
पहिलो पटक सन् १९९८ मा बैंककमा भएको एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन्।
त्यसको दुई दशकपछि सन् २०१८ मा जकार्ता एसियाडको टिम इभेन्ट्सअन्तर्गत क्रसकन्ट्री विधामा नेपालको प्याराग्लाइडिङले रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो।
पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका बिमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश चौधरी र विशाल थापाको टिमले दुई दशकपछि रजत पदक दिलाएका थिए।
नेपालले अहिलेसम्म जितेका यिनै तीन सबैभन्दा ठूला पदक हुन्।
नेपालले सन् १९५१ देखि १९९४ सम्म ११ वटा कांस्य पदक जितेको थियो। १९९८ मा १ रजत र ३ कांस्य गरी ४ पदक जितेको थियो। २००२ मा दक्षिण कोरियामा भएको १४औँ एसियाड र २००६ मा कतारमा भएको १५औँ एसियाडमा नेपालले समान ३ कांस्य पदक जितेको थियो।
सन् २०१० मा ग्वान्झाउमा भएको १६औँ एसियाडमा बक्सिङका दीपक महर्जनले पुरुष ८१ केजी तौल समूहमा कांस्य पदक जितेका थिए। सन् २०१४ मा भएको इन्चोन एसियाडमा करातेकी बिमला तामाङले महिला एकलमा कांस्य पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन्।