जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दो, सावधानी अपनाउन सरकारको आग्रह

 संवाददाता    २०८३, ७ भाद्र आईतवार १४:१०     20 जनाले पढ़िसके



Spread the love

सरकारले नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) रोगको जोखिमबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जेईको संक्रमण तथा मृत्युको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क रही सुरक्षित रहन आग्रह गरेको हो।

महाशाखाले जेईबाट देशभर २१ जनाको मृत्यु भएको जनाएको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी झापामा ६ जना छन्। झापामा १० जनामा संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।

अहिलेसम्म २५ जिल्लाका ५९ स्थानीय तहका ८० जनामा जेई पुष्टि भएको महाशाखाले जनाएको छ।

जेई पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापानिज इन्सेफलाइटिस रोगविरुद्धको ‘जेई खोप लगाएका थिएनन्। मृत्यु हुने २१ जनाले नै जेई विरुद्धको खोप नलगाएको महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।

महाशाखाले उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिए उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था जान आग्रह गरेको छ।

सबैभन्दा बढी झापामा १० जना, त्यसपछि कैलाली र मोरङमा ७/७ जना, सप्तरी र कञ्चनपुरमा ६/६, तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा ५/५ जनामा जेई देखिएको डा. गौतमले बताए।

उनले मुख्यतः तराई तथा भित्री मधेशका जिल्लाहरूमा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, सुर्खेत लगायत पहाडी जिल्लाहरूमा समेत जेई पुष्टि भएको पनि जानकारी दिए।

कसरी फैलिन्छ जापानिज ईन्सेफलाईटिस?
जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ।

पछिल्लो प्रतिवेदनअनुसार ८७ प्रतिशत जेईका केस तराईका जिल्लामा देखिएका छन्। धेरै बिरामीहरू धानखेत तथा सुँगुर पालन गरिने क्षेत्रमा बसोबास गर्ने पाइएको छ।

संक्रमित जनावरहरू जस्तै सुङ्गुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा भाइरस सर्न सक्छ। जेईको संक्रमण भएका प्रत्येक ३ जनामध्ये १ जनाको मृत्यु हुने र १ जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्न पर्ने तथ्याङ्क छ।

कसलाई बढी जोखिम?
पछिल्लो तथ्यांकअनुसार ८० पुष्टि भएका केसमा ५१ जना अर्थात ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमा ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ।

यस वर्ष हालसम्म पुष्टि भएका ८० केसमा पुरुष ४३ र महिला ३७ जना छन्। जेईका कारण २१ जनाको मृत्यु भएको छ र केस फ्याटालिटी रेट २६ प्रतिशत रहेको छ।

कस्ता लक्षणहरू देखिन्छन्?
जेई लाग्यो भने सुरुमा रुघा/खोकीमा जस्तै सामान्य प्रकारका लक्षण तथा चिन्हहरु देखिन्छन् । त्यसपछि निम्नानुसार गम्भिर प्रकारका लक्षण र चिन्हहरु देखापर्छन्

– उच्च ज्वरो आउने, जाडो हुने, कम्पन आउने र धेरै नै टाउको दुख्ने।

– वाकवाकी लाग्ने र वान्ता आउने।

– झर्को मान्ने, वेसुर हुने, बर्बराउने, मुर्छा पर्ने र बेहोस हुने।

यस्ता लक्षण देखिए के गर्ने?
यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर बस्नु हुँदैन। विरामीलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्‍याउनु पर्छ।

समयमै अस्पताल पुर्‍याउन सकेमा जटिलता कम गर्न र ज्यान जोगाउन सकिन्छ। ढिलो उपचार पाएमा मस्तिष्कमा गम्भीर असर पर्नुका साथै मृत्युको जोखिमसमेत बढ्न सक्छ।

समयमै अस्पताल पुर्‍याइएका कारण गम्भीर जटिलता र मृत्युबाट जोगिएका धेरै उदाहरणहरू छन्। त्यसैले, यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्था वा अस्पताल पुग्न स्वास्थकर्मीको सुझाव छ।

जापानिज इन्सेफलाइटिस रोग लाग्नबाट कसरी सुरक्षित हुन सकिन्छ ?

लामखुट्टेको टोकाईबाट बच्न सकेमा यो रोगबाट सुरक्षित हुन सकिन्छ। यसको लागि
१.घरको झ्याल, ढोकामा जाली राख्ने।
२.घर वरीपरी पानी जम्ने खाल्डा(खुल्डी पुर्ने।
३.हात खुट्टा पूरै ढाकिने कपडा लगाउने।
४.झुलभित्र मात्र सुत्ने।
५. लामखुट्टे भगाउने धूप बाल्ने।
६. लामखुट्टेको टोकाईबाट बच्न शरीरमा महलम लगाउने।
७. जापनीज इन्सेफलाइटिस रोगबाट सुरक्षित हुन जेई खोप लगाउने।
८. खोप १२ महिनाको उमेरका बालबालिकाहरूलाई लगाउने।