सरकारले माग बेवास्ता गरेको भन्दै जेनजी घाइते र सहिद परिवारको आन्दोलनको चेतावनी

 संवाददाता    २०८३, ७ भाद्र आईतवार १५:३२     17 जनाले पढ़िसके



Spread the love

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफूहरुका माग तत्काल पूरा गर्न ससरकारलाई अल्टिमेटम दिएका छन्।

जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुका माग तत्काल पूरा नभए फेरि सडक संघर्षमा उत्रिने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा जेनजी सहिद श्रीयम चौलागाईंका पिता तथा जेनजी सहिद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले सरकारले सहिद परिवार र घाइतेका माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गरे।

उनले गृहमन्त्री सुधन गुरुङले सरकार गठन भएको एक महिनाभित्र जेनजी सहिदका परिवार र घाइतेहरुका सबै माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको भएपनि अहिलेसम्म ठोस प्रगति नभएको बताए।

उनले आफूहरूका माग सम्बोधन गर्न भन्दै सरकारले पटक पटक समिति गठन गर्ने तर ती समितिले प्रभावकारी रुपमा काम गर्न नसक्दा सरकारप्रति आफूहरूको विश्वास गुम्दै गएको बताए।

उनले भने, ‘गृहमन्त्री सुधन गुरुङले हामीलाई एक महिनाको समय दिनुहोस् सबै मागहरु पूरा गर्छु भनेको हुनाले हामीले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका हौँ। तर अब त्यो अवस्था छैन।’

चौलागाईंले घटना भएको १२ महिना बितिसक्दा समेत सरकारले विश्वास गर्ने आधार तयार गर्न नसकेको आरोप लगाए। उनले सरकारले विगतमा सहिद परिवार र घाइतेहरुसँग गरेका सहमतिहरू कार्यान्वयन नगरेको समेत आरोप लगाए।

उनले भने, ‘१२ महिना हुँदा समेत सरकारले विश्वास लाग्ने काम पनि गरेन कुरा पनि गरेन। हामीले सरकारले मन्त्रालयका सहसचिव र घाइते तथा सहिद परिवारका दुई दुई जना सम्मिलित बैठकमा समेत यो समितिले टुंग्याएका सबै विषयहरू सरकारले हुबहु पास हुने ग्यारेन्टी दिनुस् भनेर भनेका थियौँ। तर उहाँहरुले मान्नुभएन। हामीहरुले दुःखबाहेक केही पनि पाएनौँ।’

उनले मन्त्रालयका सहसचिव, सहिद परिवार र घाइतेका प्रतिनिधि सम्मिलित समितिमा आफूहरूले समितिले टुंग्याएका विषय सरकारले कार्यान्वयन गर्ने सुनिश्चितता माग गर्दा मन्त्रालयका कर्मचारीहरू पछि हटेको आरोप समेत लगाए।

भदौ २३ गते ‘स्मृति दिवस’, असोज १५ देखि महायज्ञ
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले जेनजी आन्दोलनका सहिदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ बनाएका छन्।

पत्रकार सम्मेलनमा जेनजी सहिद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष चौलागाईंले उक्त स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिए। उनले स्मृति दिवस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले व्यहोर्नुपर्ने बताए।

उनले सहिदका परिवार तथा घाइतेहरू आर्थिक रुपमा कमजोर रहेको उल्लेख गर्दै कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरे। उनले संयुक्त समितिले आगामी असोज १५ गतेदेखि सोही संसद भवनभित्र सात दिने महायज्ञ सञ्चालन गर्ने योजना रहेको समेत बताए।

महायज्ञको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पनि सरकारले लिनुपर्ने उनले माग गरे।

सरकारले यसअघि नै प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहिद दिवसको रुपमा मनाउने निर्णय गरिसकेको छ।