सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने कार्यक्रम हाललाई स्थगन गरिएको छ।
यही भदौ पहिलो साता चीन भ्रमणमा जाने लामिछानेको कार्यक्रम हाललाई रोकिएको हो।
नयाँ मिति तय भइनसके पनि अब लामिछाने असोज (मध्य सेप्टेम्बर) तिर चीन भ्रमणमा जाने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्।
लामिछाने भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म आठ दिने चीन भ्रमणमा जाने गरी कार्यक्रमहरूको तयारी भइरहेको थियो।
लामिछानेले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बोइजिङपछि तिब्बतको कैलाश मानसरोवरसम्म जाने तयारी भएको थियो।
चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने र देशभित्रकै परिस्थिति पनि केही फेरिएको अवस्थामा लामिछानेले तत्कालका लागि भ्रमण स्थगित गरेको स्रोतहरूले जनाएका छन्।
भदौका लागि तय भएको भ्रमण स्थगित भए पनि उनी असोजमा चीन जान सक्ने सम्भावना चाहिँ छ। तर अहिलेसम्म नयाँ मिति तय भएको छैन। ‘भ्रमण नै स्थगित भन्न त मिल्दैन,’ लामिछाने निकट एक नेता भन्छन्, ‘तर अब सभापति चीन भ्रमणमा कहिले जानुहुन्छ निश्चित छैन।’
यसैबिच सांसदहरूको एक टोली ७ दिनका लागि चीन भ्रमणमा जाने तय भएको छ।
बेइजिङमा हुने विकासशील देशका सांसदहरूको ८औँ सेमिनारमा सहभागी हुन पाँच जनाको टोली भोली भदौ ८ गते चीन जाने कार्यक्रम छ।
प्रतिनिधिसभामा रास्वपाका सांसद कमल सुवेदीले नेतृत्व गर्ने टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी, किरण बाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञ बहादुर बोगटी र संघीय संसदका उपसचिव शारदा भण्डारी रहने छन्।