राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विचार मिल्ने शक्तिबीच सहकार्य आवश्यक : प्रचण्ड

 संवाददाता    २०८३, ७ भाद्र आईतवार १५:३४     15 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताएका छन्।

सोमबार काठमाडौँमा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट देखापरेको उल्लेख गरेका हुन्।

संयोजक दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू क्रमशः खोसिँदै गएकोप्रति चिन्ता व्यक्त गरे। देशमाथि वैदेशिक र प्रतिक्रियावादी शक्तिहरूको दबाब एवं हस्तक्षेप बढ्दै गएको दाबी गर्दै उनले वर्तमान अवस्थामा विचार मिल्ने शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य भएको बताए।

संयोजक दाहालले भने, ‘आज देशको परिस्थिति निकै जटिल मोडमा छ, राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको छ। यो परिस्थितिमा विचार मिल्ने दलहरूबीच पार्टी एकता, तत्कालीन मुद्दाहरूमा सहकार्य र विगतमा शान्ति, संविधान एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएका शक्तिहरूबीच साझा मोर्चा निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।’

उनले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा विशेष जोड दिए।