१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा आगामी चैत तेस्रो साता हुने भएको छ।
पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४औँ दक्षिण एसियाली खेलकुद २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो।
पाकिस्तानमा हुने सागमा २८ खेल सहभागी हुनेछन्। सागमा आयोजक पाकिस्तानसहित नेपाल, बंगलादेश, भुटान, भारत, मालदिभ्स र श्रीलंका सहभागी हुनेछन्।
हरेक ४ वर्षमा हुने साग पछिल्लो पटक सन् २०१९ मा नेपालमा भएको थियो। नेपालपछि पाकिस्तानले आयोजना गर्ने निर्णय भए पनि भारत र पाकिस्तानको राजनीतिक द्वन्द्वका कारण अहिलेसम्म हुनसकेको छैन।
पाकिस्तानले आयोजना गर्ने १४औँ दक्षिण एसियाली खेलकुदको तयारी बैठकमा नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय खेलकुद परिषद्की सदस्य सिक्का सुवाल श्रेष्ठ बैठकमा सहभागी छन्।
दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रिय कमिटीको बैठकमा एनओसीका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष राजवैद्य ओलम्पिक र राखेप सदस्य श्रेष्ठले सरकारको प्रतिनिधित्व गरेका छन्। भोलिसम्म चल्ने बैठकमा १४औं दक्षिण एसियाली खेलकुद (साग) २०२७ को आयोजनासँग सम्बन्धित तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।
