जय नेपाल पार्टीको उद्देश्य राजसंस्था पुनःस्थापना : धवलशम्शेर राणा

 संवाददाता    २०८३, २१ श्रावण बिहीबार १६:०६     0 View



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा जय नेपाल पार्टी गठन भएको छ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर अध्यक्ष राणाले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। जय नेपाल पार्टीले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने राणाले बताए।

‘नयाँ पार्टीको मूल विचार नै नेपाल एउटा सनातन धर्म सापेक्ष किराँत र बौद्ध धर्मलाई समेटेर अरू धर्मावलम्बीहरूलाई पनि हामीले सम्मान दिएर एउटा हिन्दू अधिराज्य बनाउने कल्पना र प्रयास लिएर अगाडि बढेका छौँ,’ राणाले भने, ‘यो पार्टीको नाम जय नेपाल पार्टी हुनेछ। यसको चुनाव चिन्हको विषयमा अझै छलफल हुँदै छ।’

राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई अभिभावकीय, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्न चाहेको उनको भनाइ छ। राणाले नेपालबाट हिन्दु राष्ट्रको व्यवस्था हटाउनु गलत निर्णय भएको दाबी गर्दै त्यसलाई शान्तिपूर्ण रूपमा सडक र संसदीय दुवै माध्यमबाट पुनःस्थापना गर्ने बताए।

‘हामीले शान्तिपूर्ण रूपमा सडकबाट हुन्छ कि सदनबाट हुन्छ हिन्दू अधिराज्यलाई पुनःस्थापना गर्नको लागि यो पार्टी जन्मेको हो,’ उनले भने।

जय नेपाल पार्टीले सनातन धर्मलाई आधार मान्दै किराँत, बौद्धलगायत सबै धर्मावलम्बीको सम्मान गर्ने नीति लिने उनको भनाइ छ। उनले नवगठित पार्टीलाई युवा र महिला केन्द्रित बनाइने दाबी गरे।

‘यो पार्टीमा नेपालले गुमाएको सनातनी धर्म सापेक्ष हिन्दू अधिराज्य अर्थात् राजासहितको प्रजातन्त्र हुन्छ, कस्तो खालको राजा र राजसंस्था पनि मैले यहाँहरूलाई प्रष्ट पार्न चाहन्छु। हामीले राजनीति गर्ने राजसंस्था खोजेकै हो,’ राणाले भने, ‘यो देशमा नेपालीका छोरा र छोरीले राजनीति गर्ने हो। एउटा अभिभावकीय भूमिका, एउटा घरमुलीको भूमिका, एउटा राष्ट्र रक्षकको भूमिका राजसंस्था रहनेछ।’

पार्टीको केन्द्रीय समितिको औसत उमेर ४५ वर्ष कायम गर्ने लक्ष्य राखिएको उनको भनाइ छ। जिल्ला र निर्वाचन क्षेत्रबाटै प्रतिनिधित्व सुनिश्चित गर्दै संगठन निर्माण गरिने र निर्णय प्रक्रिया बहुमत तथा सर्वसम्मतिको आधारमा सञ्चालन हुने उनले सुनाए।

‘यो पार्टी प्रजातान्त्रिक पार्टी हुनेछ, पार्टीमा युवा र महिलाको उचित स्थान दिइनेछ, निर्वाचन क्षेत्र र जिल्लामुखी पार्टी हुनेछ। युवक र महिलाहरू जिल्लाबाटै निर्वाचन क्षेत्रबाटै युनिल्याटरल रूपमा केन्द्रीय कमिटीमा आउनेछन्’ उनले भने। ‘हामीले पार्टीको सेन्ट्रल कमिटीको एभरेज एज ४५ वर्ष राख्ने अठोट गरेका छौँ।’

नयाँ पार्टीमा नेतृत्वले निर्णय लाद्ने प्रवृत्तिको अन्त्य गर्दै सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिने उनको दाबी छ। पार्टीलाई कुनै एक व्यक्तिको नभई सबै सदस्यको साझा राजनीतिक संगठन बनाउने जिकिर गरेका छन्।

साउनको २८ गते निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने उनले बताए।