यूएईका नेपालीका लागि क्रिप्टोबाट टिकट खरिदको सुविधा

 संवाददाता    २०८३, १९ श्रावण मंगलवार ११:४५     23 जनाले पढ़िसके



Spread the love

अन्तर्राष्ट्रिय एयरलाइन्स इमिरेट्सका टिकट अब क्रिप्टो करेन्सीबाट खरिद गर्न सकिने भएको छ। इमिरेट्सको आधिकारिक वेबसाइट अथवा एप प्रयोगकर्ताले क्रिप्टोबाट भुक्तानी गर्न पाउने भएका हुन्।

इमिरेट्सका टिकटको मूल्य अनलाइनबाट भुक्तानी गर्दा अब बैंक वा अरु वित्तीय विकल्पसँगै ‘क्रिप्टो डट कम पे’ को अप्सन देखिनेछ।

युएईको दिराममा मूल्य तोकेका एयरलाइन्सका सेवा खरिद गर्न पनि क्रिप्टो प्रयोग गर्न सकिनेछ। टिकट तथा सेवा खरिद गर्नका लागि केही निश्चित मापदण्डहरु भने तोकिएका छन्।

नेपालमा क्रिप्टो करेन्सीको प्रयोग अवैध हो तर अन्तर्राष्ट्रिय व्यापारिक हब दुबई तथा राजधानी आबुधाबीसहित युएईका विभिन्न ठाउँमा लाखौँ नेपाली छन्। फ्लाईदुबईले काठमाडौं–दुबई–काठमाडौंको रुटमा दैनिक उडान गर्छ। यो वायुसेवा कम्पनी इमिरेट्स समूहकै भातृ कम्पनी हो।

इमिरेट्स र फ्लाइदुबईबीच कोड सेयरिङमा बिजनेस हुनेगर्छ। यसको अर्थ दुबई वा दुबईलाई ट्रान्जिट बनाएर अन्य मुलुक जाने इमिरेट्सका यात्रुले काठमाडौंबाट फ्लाईदुबई प्रयोग गर्नुपर्ने हुन्छ। इमिरेट्सको वेबसाइट वा एपमा गएर क्रिप्टो करेन्सीले टिकट खरिद गरेकाहरू फ्लाइदुबईबाट काठमाडौं आउन सक्छन्।

एयरलाइन्स र क्रिप्टो डट कमसँगको सहकार्यमा यो सेवा ल्याइएको हो।

नेपालका लागि इमिरेट्सको जीएसए युनिभर्सल टुर्स एन्ड ट्राभल्स हो। सिधै अफिसियल एप र अफिसियल अनलाइनबाट क्रिप्टो करेन्सी, डलर वा दिराम प्रयोग गरी टिकट खरिद गरे, नगरेको यता जानकारी नहुने कम्पनीले जनाएको छ।

‘इमिरेट्स वा फ्लाईदुबईको टिकट लिन यहीँ कार्यालयमा आउनुपर्छ’, महाराजगञ्जस्थित ललितभवन कार्यालय भएको कम्पनीका एक जना आधिकारिक व्यक्तिले नेपालखबरसँग भने, ‘हामीले यहाँको नीति नियम पालना गर्नुपर्छ। अफिसियल अनलाइन वा एप प्रयोग गरेको हो भने हामीलाई केही थाहा हुँदैन।’

नेपालमा क्रिप्टो करेन्सीको प्रयोग अवैध हो।

क्रिप्टो भुक्तानीको विकल्प दिने इमिरेट्स युएईको पहिलो एयरलाइन्स कम्पनी भने होइन। गत वर्षको मे महिनामा शारजाहको ‘बजेट एयरलाइन्स’ एयर अरेबियाले बुकिङ भुक्तानीका लागि स्टेबलकोइन ‘एई कोइन’ प्रयोग गर्ने विकल्प सुरु गरेको थियो।

युएईले सन् २०२६ को अन्त्यसम्ममा सरकारी र निजी क्षेत्रका ९० प्रतिशत वित्तिय कारोबार डिजिटल बनाउने गरी काम गरिरहेको छ।

बैंकिङ, वित्त, पर्यटन, रिटेल तथा सेवा क्षेत्रमा डिजिटल भुक्तानीको प्रयोगलाई तीब्र रुपमा विस्तार गरिरहेको छ। फिनटेक र डिजिटल अर्थतन्त्रमा विश्वकै उच्च स्थानमा रहन महत्त्वाकांक्षी नीति अपनाइरहेको युएईले धेरै क्रिप्टो कम्पनीहरूलाई दुबई र अबुधाबीमा आकर्षित गर्न नयाँ-नयाँ योजना ल्याइरहेको छ।

खाडी क्षेत्रको ठूलो अर्थतन्त्र भएको यो देशले क्रिप्टो कारोबारका लागि पूर्वाधार विकास र विस्तारको रगुलेसन गर्न भर्चुअल एसेट्स रेगुलेटरी अथोरिटी गठन गरिसकेको छ। दुबई इन्टरनेसनल फाइनान्सियल सेन्टर र अबुधाबी ग्लोबल मार्केट लगायतका निकायले पनि लगानीकर्ता र बजारको सहभागितालाई प्रोत्साहन गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक समाचार अनलाइन ‘बिजनेस इन्साइडर’ अनलाइनको विश्लेषण छ, ‘ इमिरेट्सका सेवा खरिदमा क्रिप्टो प्रयोग गर्ने निर्णय यही नीति अन्तर्गतको एउटा कदम हो।’

टिकट तथा सेवा खरिद गर्न कुन–कुन क्रिप्टो करेन्सी स्वीकार गरिन्छ भन्ने स्पष्ट पारिएको छैन। इमिरेट्सले सम्झौता गरेको क्रिप्टो डट कम विश्वका ठूला एक्सचेन्जमध्ये एउटा हो। यसको प्लेटफर्ममा बिटकोइन, इथेरियम र सालाना, स्टेबलकोइन, टेथा, यूएसडी कोइन र यसको आफ्नै क्रोनोज सहित ४ सयभन्दा बढी डिजिटल मुद्रा समावेश छन्।

सन् २०१६ मा स्थापना भएको यो कम्पनी नियामकका कानुन पालना, सुरक्षा र गोपनीयताका लागि भरपर्दो मानिन्छ।

९० भन्दा बढी देशमा कारोबार गरिरहेको क्रिप्टो डट कमका विश्वभरि १५ करोडभन्दा बढी प्रयोगकर्ता छन्। युएईमा रहेको यसको अर्को फोरिस ड्याक्स मिडिल इस्टले गत मे महिनामा युएई सेन्ट्रल बैंकबाट ‘स्टोर्ड भ्यालु फ्यासिलिटिज’को लाइसेन्स पाएको थियो। त्यसयता कम्पनीले दुबईको अर्थ मन्त्रालयसँगको मिलेर त्यहाँका बासिन्दाले सरकारी बिलको भुक्तानी क्रिप्टोबाट पनि गर्न सक्ने बनाइसकेको छ।

‘क्रिप्टोको स्वीकार्यताले टिकट तथा सेवा खरिदका लागि विकल्प बढाएको छ। मुख्यगरी मोबाइलबाटै आर्थिक कारोबार गर्ने र यात्राको योजना बनाउने युवा तथा प्रविधिमैत्री पुस्ताको बदलिँदो रोजाइलाई अब सजिलो हुनेछ’, इमिरेट्सका डेपुटी प्रेसिडेन्ट तथा चिफ अपरेसन अधिकृत अदनान कामिज भन्छन्।

क्रिप्टो डट कमका प्रेसिडेन्ट एरिक अन्जियानीले इमिरेट्ससँगको सहकार्य क्रिप्टो डट कमका लागि एउटा महत्वपूर्ण कोशेढुंगा हुने बताएका छन्।