कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणमा सोधिएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर नदिने बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। प्रश्नोत्तर कार्यक्रमको सुरुवातमै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रश्न सोध्न अनुमति दिएका थिए।
सांसद विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् भनेर प्रश्न गरेका थिए।
त्यसको उत्तरमा गृहमन्त्री गुरुङले गम्भीर विषयको भए बताए। ‘यो विषय एकदमै सेन्सेटिभ छ,’ उनले भने।
यस विषयमा गृहमन्त्री गुरुङले सांसदलाई नै उल्टै प्रश्न गरे। ‘हजुर सत्तामा हुँदा किन नगर्नु भएको हो?,’ उनले भने।
यस विषयलाई संसद्मा धेरै कोट्याउन नहुने उनको तर्क थियो। ‘आमाको घाउलाई कोट्याइरहने हो कि संसदमार्फत कि न्याय दिने हो?,’ उनले भने।
यसमा अनुसन्धान भइरहेको गृहमन्त्री गुरुङको भनाइ थियो। ‘धेरै कुरा बोल्न सक्दिँन। बोल्नु हुँदैन। सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँं,’ गुरुङले भने।
गृहमन्त्री गुरुङले अब संसद्मा निर्मला हत्या प्रकरणमा प्रश्न नगर्न अनुरोध गरे। ‘यो प्रश्न नउठाइ दिन हुन अनुरोध गर्दछु। केही कुरा छ भने व्यक्तिगत रुपमा सोध्नु होला,’ उनले थपे, ‘यो विषय सदनमा बारम्बार कोट्याउन हुँदैन।’
त्यसपछि अध्यक्ष दाहालले सांसद विश्वकर्मालाई पुरक प्रश्न सोध्न समय दिए। त्यसपपछि सांसद विश्वकर्माले प्रश्न सोध्ने आफ्नो विधायिकी अधिकार भएको उल्लेख गरे। उनले फेरि प्रश्न सोधे, ‘निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन?’
त्यसपछि अध्यक्ष दाहालले गृहमन्त्री गुरुङलाई उत्तर दिन समय दिए। यस पटक भने गृहमन्त्री गुरुङले भने, ‘म यसको उत्तर दिन चाहदिँन।’