प्रतिनिधिसभा कार्यसम्पादन समितिको बैठकमा हिजो सांसदहरूको ड्रेस कोडदेखि कालो चस्मासम्मका कुरा उठे । सभामख डिपी अर्यालले संसद बैठकमा जाँदा कालो चस्मा नलगाउन सांसदहरूलाई सचेत गराएका छन् ।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले आफ्नो दलका सांसदहरूको तडकभडकपूर्ण उपस्थितिलाई ‘सम्हाल्न गाह्रो भएको’ भन्दै सभामुखले नै रुलिङ गरेर ड्रेसकोड तय गर्न सुझाव दिएका थिए ।
‘सांसदहरू जिन्स पाइन्टदेखि चप्पलै लगाएर संसद बैठकमा आउन थाले । सभामुखज्यूले नै यसलाई रोक्नुपर्यो,’ उनले भने ।
बुर्लाकोटीको सुझाव सुनेपछि सभामुख डोलप्रसाद अर्यालले आफ्नो तर्फबाट प्रस्ताव थपे, ‘कालो चस्मा लगाएर संसदमा जाने कुरा पनि बन्द गरौँ ।’
सभामुखको उक्त प्रस्तावलाई बैठकमा उपस्थित सबैजसो प्रमुख सचेतक र सचेतकहरूले समर्थन गरे । तर, नेपाली कांग्रेसकी सचेतक बासना थापा उक्त बैठकमै कालो चस्मा लगाएर पुगेकी थिइन् । उनले प्रस्तावमा असहमति जनाइन् । सहभागी एक नेताका अनुसार सभामुख अर्यालले आफूलाई नै लक्षित गरेर उक्त प्रस्ताव ल्याएको भन्ठानेर कांग्रेस सचेतक बासनाले असहमति व्यक्त गरेकी थिइन् ।
‘सबै माननीयज्यूले मानिसक्नुभएको प्रस्ताव म अस्वीकार गर्दिनँ, तर सबैभन्दा पहिला सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरूबाटै यो काम शुरु गरौँ,’ उनले भनिन्, ‘उहाँहरूले सदनमा आउँदा चस्मा नलगाउने हो भने हामी पनि नलगाउँला । नियमहरू सांसदलाई मात्र लागु नहोला । प्रधानमन्त्री, मन्त्रीज्यूहरू पनि यही संसदको सदस्य हुनुहुन्छ, उहाँहरूबाट शुरु गरौँ ।’
सभामुख अर्यालले नियम सबैका लागि बराबर हुने जवाफ दिए । तर, प्रधानमन्त्री र मन्त्रीहरूलाई कालो चस्मामा बन्देज लगाउने स्पष्ट प्रतिवद्धता भने व्यक्त गरेनन् । सबै दलहरूले आ-आफ्ना सांसदहरूलाई कालो चस्मा नलगाउन र संसदको लोगो लगाउन अनिवार्य गर्नुपर्ने सभामुखको आशय थियो । कसैको आँखा नै खराब छ भने चस्मा प्रयोग गर्न सक्ने उनले बताएका थिए ।
कांग्रेस सचेतक बासना थापाले आफूलाई कालो चस्माबिना संसदका बैठकमा जान कुनै पनि समस्या नरहेको बताइन् ।
‘हामी समाजमा सभ्य भएर हिँड्नुपर्छ, बोल्नुपर्छ भन्ने कुरामा सबैभन्दा बढी चिन्तित छौँ, किनभने समाजले हामीलाई अनुशरण गरिरहेको हुन्छ,’ उनले भनिन्, ‘तर, नियम भनेको ठूला मान्छेबाट पालना गर्न शुरु गरौँ भनेकी हुँ । मलाई चस्माबिना बैठकमा जान कुनै अप्ठेरो छैन । सम्माननीय प्रधानमन्त्री र माननीय मन्त्रीज्यूसहित सत्तारुढ दलकै माननीयज्यूहरूबाट यो कामको शुरुवात गरौँ भन्ने मेरो भनाइ छ ।’
प्रधानमन्त्री बालेन्द्र शाह नै संसद बैठकमा कालो चस्मा लगाएर जान्छन् । त्यसो त उनी मन्त्री परिषद बैठकमा समेत कालोचस्मा र अनौपचारिक पोशाक लगाएर बसेका हुन्छन् ।
प्रधानमन्त्री शाह अहिलेसम्म चारपटक संसद बैठकमा सहभागी भएका छन् । चारैपटक उनले औपचारिक पोशाक लगाएनन् ।