एकदिवसीय विश्वकप छनोटको मिति तय, नेपालका समर्थकको एउटै प्रश्न– खेल्न पाउला?

 संवाददाता    २०८३, २० श्रावण बुधबार १६:०१     37 जनाले पढ़िसके



Spread the love

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति तय गरेको छ । यो प्रतियोगिता आगामी वर्षको फरवरी २२ देखि मार्च २३ सम्म हुनेछ।

प्रतियोगिताको स्थान भने अझै तय भएको छैन । २०२७ विश्वकपको नयाँ ढाँचाअनुसार १० टिमको छनोट प्रतियोगिताको विजेता टिमले सिधै मुख्य १४ टिमको विश्वकपमा प्रवेश पाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टिमहरूले विश्वकपको पहिलो चरण (सुपर सिरिज) मा खेल्नेछन् र त्यहाँबाट शीर्ष टिम मुख्य १२ टिमको चरणमा पुग्नेछन् ।

विश्वकप २०२७ दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाका १२ वटा मैदानमा अक्टोबर ४ देखि नोभेम्बर ११ सम्म हुनेछ ।

छनोट प्रतियोगितामा कसरी टिमहरू आउँछन् ?

१० टिमको छनोटमा यी टिमहरू समावेश हुनेछन् :

  • सेप्टेम्बर ३०, २०२६ सम्मको ओडीआई र्याङ्किङमा होस्ट दक्षिण अफ्रिका र जिम्बावेबाहेकका दुई तल्लो स्थानका पूर्ण सदस्य राष्ट्र
  • सीडब्ल्यूसी लिग २ का शीर्ष चार टिम
  • विश्वकप छनोट प्लेअफका शीर्ष चार टिम

प्लेअफमा सीडब्ल्यूसी लिग २ का तल्लो चार टिम र च्यालेन्ज लिगका चार टिम गरी जम्मा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज लिगमा १२ टिमलाई दुई पुलमा विभाजन गरिनेछ र प्रत्येक पुलका शीर्ष दुई टिम प्लेअफमा जानेछन् ।

नेपालको सम्भावना के छ ?

नेपाल हाल सीडब्ल्यूसी लिग २ मा खेलिरहेको छ । हालसम्मको प्वाइन्ट टेबलअनुसार नेपाल छैटौँ स्थानमा छ (३२ खेलबाट ११ जित, २४ अङ्क)। शीर्ष चार टिमले सिधै विश्वकप छनोट प्रतियोगितामा स्थान पाउँछन् । हालको अवस्थामा नेपाल शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

नेदरल्यान्ड्सको भ्रमणमा भएका हारपछि नेपाल निश्चित रूपमा लिग २ का तल्लो चारमा पर्नेछ । यस अवस्थामा नेपालले विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट शीर्ष चारमा परेमा मात्र नेपाल फेब्रुअरी-मार्च २०२७ मा हुने १० टिमको मुख्य छनोट प्रतियोगितामा पुग्न सक्छ । त्यहाँबाट राम्रो प्रदर्शन गरेर विश्वकपसम्मको यात्रा जारी राख्न सकिन्छ ।

अहिलेको अवस्थामा नेपालले बाँकी खेलहरूमा राम्रो नतिजा निकालेर प्लेअफमा बलियो स्थिति बनाउनु र त्यहाँबाट छनोट प्रतियोगितासम्म पुग्नु नै मुख्य लक्ष्य हुनेछ।