राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारबारे निर्णय गर्ने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।
बुधबार बसेको बैठकले केन्द्रको निर्देशनबिना प्रदेश सरकारमा सहभागी नहुन निर्देशन दिएको छ। राप्रपाको निर्णयमा भनिएको छ, ‘पार्टीको निर्देशन बिना सत्ता केन्द्रीत कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई बैठक निर्देश गर्दछ।’
बैठकले प्रदेश सरकारबारे निर्णय गर्ने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
‘वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल छैन र लालायित पनि छैन। प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ,’ बैठकका निर्णयबारे प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।’
