नेपाल भ्रमणमा रहेका मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातार र परराष्ट्रमन्त्री शिशिर खनालबीच सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा नेपाल र मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य-मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको छ।
परराष्ट्रमन्त्री खनालले नेपाल र मंगोलियाबीच भूराजनीतिक रूपमा धेरै समानता रहेको उल्लेख गर्दै नेपालले मंगोलियाको अनुभवबाट सिक्न सक्ने बताए। उनले विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य-मान्यताका क्षेत्रमा दुई मुलुकबीच सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।
मन्त्री खनालले नेपाल र मंगोलियाले भूपरिवेष्टित मुलुकहरूको अधिकार तथा हितका पक्षमा संयुक्त रूपमा आवाज उठाउन सक्ने बताए। उनले मंगोलियाले आफ्ना छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै साझेदारी व्यवस्थापनमा विश्वस्तरमा पहिचान बनाउन सफल भएको भन्दै त्यसको प्रशंसा गरे।
भेटवार्तामा नेपाल र मंगोलियाबीचको द्विपक्षीय तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावित उपायहरूबारे समेत छलफल भएको जनाइएको छ। मन्त्री खनालले नेपालको नयाँ सरकार मंगोलियासँग आध्यात्मिक साझेदारका रूपमा सम्बन्ध थप सुदृढ गर्न इच्छुक रहेको बताए।
भेटवार्तामा पूर्वप्रधानमन्त्री जन्दानशातारले नेपाल र मंगोलियाबीच रहेका भौगोलिक समानताको चर्चा गर्दै बदलिँदो विश्व व्यवस्थामा मंगोलिया र नेपालजस्ता साना मुलुकहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले नेपाल र मंगोलियाबीच साझा बौद्ध मूल्य-मान्यता तथा संस्कृति रहेको उल्लेख गर्दै दुवै मुलुक एक-अर्काका आध्यात्मिक छिमेकी रहेको बताए।
उनले बौद्ध धर्मका मूल्य-मान्यता, संस्कृति तथा नेपालमा चेस खेलको विकासका क्षेत्रमा सहकार्य गर्न मंगोलिया इच्छुक रहेको जानकारी दिए।