नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भएको टिप्पणी गरेका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने नयाँ प्रस्ताव अघि सारे ।
उनले भने, ‘सबै कम्युनिस्ट पार्टीहरूमा एउटा बहस चलिरहेका छन् । कुनै एक दलले या एउटा नेताले मात्रै लिएर गइहाल्ने कम्युनिस्ट आन्दोलन देखिँदैन। नयाँ कम्युनिस्ट केन्द्र नेपालको एउटा दृष्टिकोणसहित कम्युनिस्टलाई पुनर्गठन गर्नुपर्छ । नयाँ घोषणापत्र, नयाँ दृष्टिकोणसहित गएपछि मात्रै कम्युनिस्ट आन्दोलन युवाहरूको बिचबाट फेरि उठेर आउँछ ।’
दुई दशकमा कम्युनिस्ट नेता र कम्युनिस्ट पार्टीहरूबाट भएका गल्तीले गर्दा ७० प्रतिशतबाट जनमत खुम्चिएर २२–२५ प्रतिशतमा आइसकेको बताए। कम्युनिस्ट आन्दोलनलाई एउटा नयाँ अवधारणा र दृष्टिकोणसहित रूपान्तरण पुनर्गठन गर्नुपर्ने जरुरी रहेको बताए ।
यस्तै, उनले बालेन शाह नेतृत्वको सरकारको दिनगन्ती सुरु गरेको जस्तो देखिएको बताए । उनले भने, ‘कति यथार्थ हो, कति काल्पनिक हो, हेर्नुपर्छ। तर पनि विभिन्न बौद्धिक, विज्ञ, बुद्धिजीवी, राजनीतिज्ञ, कूटनीतिज्ञहरू बिचमा यो सरकारको दिनगन्ती सुरु भइसकेको भनेको जस्तो देखिन्छ। मान्छेले दसैँ–तिहार अगाडि नै रहँदैन भन्या जस्तो, दसैँ–तिहार पछि जान भनेकोजस्तो देख्दैछौँ ।’ सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए।