कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पद नछाड्ने अडान लिएका छन्।
गएराति भक्तपुरको गुन्डुस्थित ओली निवासमै लामो छलफल गर्दै कोसीका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने जिकिर गरेका हुन्।
छलफलमा मुख्यमन्त्री कार्कीकै पक्षमा वातावरण सकारात्मक बनेको दाबी गरिएको छ।
कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले आज थप छलफल हुने जानकारी दिए।
‘गएराति कुराकानी लामै भयो। थोरै सहज वातावरण बनेको छ। सकारात्मक खालको वातावरण छ। फाइनलचाहिँ होइन। दिउँसो थप छलफल छ’, उनले बुधबार बिहान भने।
नेपाली कम्युनिस्ट पार्टीसँग सत्ता साझेदारी गर्ने सहमति भएपछि एमालेले कोसी प्रदेशमा आफ्नै पार्टीबाट मुख्यमन्त्री रहेका कार्कीलाई परिवर्तन गर्न चाहेको छ। तर वर्तमान मुख्यमन्त्री कार्कीले पद नछाड्ने अडान लिएपछि यो किचलो पार्टीको केन्द्रीय तहमा आइपुगेको हो।
अध्यक्ष ओलीको निर्देशन र ‘ग्रिन सिग्नल’ पाएपछि एमाले कोसी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो मुख्यमन्त्री बन्ने प्रयासमा छन्।
मुख्यमन्त्री फेर्ने विषयमा आन्तरिक किचलो प्रदेशमा मिल्न नसकेपछि एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारी पनि ओली निवास गुण्डु आइपुगेका छन्।
एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राई भने केन्द्रको नीति र पार्टी अध्यक्षको निर्देशनबमोजिम नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन दबाब दिइरहेका छन्।
बेलायत भ्रमणबाट फर्किएलगत्तै राईले विराटनगर पुगेर प्रदेश सांसदहरूसँग भेटवार्ता तीव्र पारेका छन्। अहिले पनि उनी विराटनगरमै छन्।
उता मुख्यमन्त्री कार्कीले भने एमालेकै नेतृत्वमा रहेको सरकारलाई अप्ठ्यारो परिस्थितिमा ढालेर नेतृत्व फेर्दा जनमानसमा गलत सन्देश जाने भन्दै सरकार छाड्न अस्वीकार गरेका छन्। उनले राजीनामा नदिने र हटाउने भए प्रक्रियाबाट हटाउन चुनौती दिएका छन्।
मुख्यमन्त्री कार्कीको यो अडानका कारण नयाँ सरकार गठन प्रक्रियामा गम्भीर संवैधानिक जटिलता उब्जिएको छ। वर्तमान कोसी सरकार संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको र यस धारा अन्तर्गत सांसदहरूलाई दलको ‘ह्विप’ नलाग्ने भएकाले मुख्यमन्त्री स्वयंले राजीनामा नदिएसम्म उनलाई हटाएर अर्को सरकार बनाउन कानुनी रूपमा कठिन देखिन्छ।