मुख्यमन्त्री कार्की हटाउन शेरधनको सक्रिय दौडधुप, एमालेभित्र किचलो

 संवाददाता    २०८३, १७ श्रावण आईतवार १३:२९     23 जनाले पढ़िसके



Spread the love

कोसी प्रदेशमा सरकार पुनर्गठनको चर्चा चुलिइरहेका बेला सत्तारूढ नेकपा (एमाले)भित्र मुख्यमन्त्री फेर्ने विषयलाई लिएर आन्तरिक ध्रुवीकरण देखिएको छ।

पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राईले केन्द्रको नीति र पार्टी अध्यक्षको निर्देशनबमोजिम नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दबाब दिएका छन्।

राजीनामाको सहमति नजुटिरहेका बेला राईले प्रदेशका सबै सांसदहरूलाई छुट्टाछुट्टै भेटेर मुख्यमन्त्री कार्कीलाई हटाउनका लागि दबाब बढाएको स्रोतले जनाएको छ।

बेलायत भ्रमणबाट फर्किएलगत्तै विराटनगर पुगेर राईले सांसदहरूसँगको भेटघाट तीव्र पारेका छन्। राईले केन्द्रको निर्णय अनुसार भन्दै नेतृत्व परिवर्तनको गृहकार्य गर्न सांसदहरूसँग छुट्टाछुट्टै भेट गरिरहेका छन्।

​एमालेकै नेतृत्वमा रहेको सरकारलाई अप्ठ्यारो परिस्थितिमा ढलाएर नेतृत्व फेर्दा जनमानसमा गलत सन्देश जाने भन्दै मुख्यमन्त्री कार्कीले भने सरकार छाड्न अस्वीकार गरेका छन्।

कार्कीले भने आफूले राजीनामा नदिने र हटाउने भए प्रक्रियाबाट हटाउन चुनौती दिएका छन्। स्रोतका अनुसार, मुख्यमन्त्री कार्कीलाई इन्चार्ज राईले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

पार्टी विधान अनुसार हटाउन दुई-तिहाइ बहुमत चाहिने र त्यो त्यति सजिलो भने छैन। एमालेकै नेतृत्वमा रहेको सरकारलाई यस्तो परिस्थितिमा ढलाएर नेतृत्व फेर्दा जनमानसमा गलत सन्देश जाने भन्दै कार्कीले पार्टीको औपचारिक एवं संस्थागत निर्णयविना आफूले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्।

मुख्यमन्त्री कार्कीको यो अडानका कारण नयाँ सरकार गठन प्रक्रियामा गम्भीर संवैधानिक जटिलता उब्जिएको छ। वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको र यस धारा अन्तर्गत सांसदहरूलाई दलको ‘ह्विप’ नलाग्ने भएकाले मुख्यमन्त्री स्वयंले राजीनामा नदिएसम्म उनलाई हटाएर अर्को सरकार बनाउन कानुनी रूपमा कठिन देखिन्छ।

गत २०८१ वैशाख २७ गते एमाले र माओवादीका गरी ५२ सांसदको समर्थनमा नियुक्त भएका कार्कीलाई पार्टीले हटाउन दबाब दिँदै आएको छ।

​केन्द्रमा सत्ता साझेदार दलहरूबिच भएको भागबन्डा अनुसार कोशी प्रदेश एमालेको भागमा परेको छ। एमाले स्रोतका अनुसार मुख्यमन्त्री कार्कीलाई फिर्ता बोलाएर उनको स्थानमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्री बनाउने आन्तरिक तयारी भइरहेको छ।

मेन्याङ्बो स्वयंले पनि यसका लागि प्रदेश सभा सदस्यहरूसँग छलफल र बैठकहरू जारी राखेका छन्। नेकपा एमाले स्रोतका अनुसार, शनिवार र आइतबार शेरधन राईले प्रदेश सभाका सदस्यहरूलाई एक्ला एक्लै बोलाएर मेन्याङ्बाेलाई दलको नेता बनाउने कसरतमा लागेका छन्।