नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार देश र जनताको हित विपरीत चलेको आरोप लगाएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै सरकार फाँसीवादी यात्रा अगाडि बढेको बताए।
उनले भने, ‘पत्रकार भाइबहिनीहरूले प्रश्न सोध्ने गर्नुहुन्छ, १०० दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर। उत्तर देखिराख्नुभएको छ। सुकुम्वासीका फोटो आफैले छापिराख्नुभएको छ। बालबालिकाका धरधरी रोएका फोटो आफैले छापिराख्नुभएको छ। सुकुम्वासी बस्तीहरूमा डोजर लगाएको तपाईँ आफैले छापिराख्नुभएको छ, प्रसारित गरिराख्नुभएको छ।’
उनले अहिले खुसी हुने कतै ठाउँ नभएको बताए।
उनले भने, ‘नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेर्नुपर्ने हुन्छ। एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन।’
उनले यस्तो उम्लिएकाहरू स्थिर नहुने जिकिर गरे।
ओलीले थपे, ‘म भन्छु, दूध एक पाथी जाने भाँडोमा ततायो भने भरि हुन्छ, भरि भएर पोखिन्छ। तर के त्यो साँच्चै भरि भएको हो त दूध? होइन, त्यो उम्लिएको मात्रै हो।’
उनले अहिलेको सरकारको भुईँमा खुट्टा नै नभएको टिप्पणी गरे।
उनले थपे, ‘अहिले यो सरकार कहाँ ठेगानमा छ? यसका खुट्टा कहाँ भुईँमा छन्? यो उम्लिया छ। दूध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिया छ। भाँडा बाहिरसम्म पोखिएको छ उम्लेर। ‘