दलाई लामा प्रकरणमा पूर्वराजदूतको जिज्ञासा– नेपालको परराष्ट्र नीति बदलिएको हो?

 संवाददाता    २०८३, २५ असार बिहीबार १५:२४     17 जनाले पढ़िसके



Spread the love

नेपालमा दलाई लामाको जन्मदिन मनाइएको विषयमा चीनका लागि ७ जना पूर्वराजदूतले आपत्ति जनाएका छन्। बिहीबार ७ पूर्वराजदूतले संयुक्त वक्तव्य जारी गर्दै सरकारको सहमतिमा उक्त जन्मदिन मनाइएको हो भनेर प्रश्न समेत गरेका छन्।

चीनका लागि पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले उक्त वक्तव्य जारी गरेका हुन्।
असार २२ गते नागार्जुन नगरपालिकार-२ स्थित नामग्याल विद्यालयमा दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको कुरा सार्वजनिक भएको थियो।
‘यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, नेपालले मित्र राष्ट्र चीनसँगको दौत्य सम्बन्धको स्थापनाकालदेखि हालसम्म कायम राखेको एक–चीन नीतिको प्रतिकूल हुन गएको छ र यसले नेपालले अवलम्बन गर्दै आएको भू–राजनीतिक सन्तुलनमा समेत प्रतिकूल असर पार्ने स्पष्ट देखिन्छ,’ उनीहरूले भनेका छन्।

उनीहरूले छिमेकीसँगको परराष्ट्र नीति बदलेको हो भनेर पनि प्रश्न गरेका छन्।

‘नेपालले सधैं दृढतापूर्वक एक–चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरूद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पर्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको, र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो? के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौं?’ वक्तव्यमा सोधिएको छ।

यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत असर पर्ने भएकाले सतर्क र सचेत रहन अपिल गरेको छ।

असार २२ गते लामाको जन्मउत्सव मनाउनेबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघिल्लो दिन जिल्ला सुरक्षा समितिको बैठक बोलाएर छलफल गरेको थियो।