पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले अवलम्बन गरिरहेको परराष्ट्र नीतिप्रति गम्भीर आशंका व्यक्त गर्दै सरकारलाई चेतावनी दिएका छन् । नेपालले लामो समयदेखि अपनाउँदै आएको ‘स्वतन्त्र र असंलग्न परराष्ट्र नीति’बाट सरकार विचलित हुन खोजेको उनको आरोप छ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै श्रेष्ठले हालै नेपालमा तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा मनाइनु र त्यसमा पश्चिमा कूटनीतिज्ञहरूको उपस्थिति हुनुलाई सामान्य घटना नभएको बताएका छन् । नेता श्रेष्ठले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान बालेन शाह नेतृत्वको स्थानीय सरकारदेखि नै दलाई लामा र उनको ‘कथित सरकार’का तर्फबाट आएका बधाई र सन्देशहरूलाई लिएर आशंका व्यक्त गरेका छन् ।
श्रेष्ठले लेखेका छन्, ‘दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा पनि भइरहेका छन् । यस बीचमा सरकारको अनुमतिमा जन्मोत्सव मनाइनुले सरकार परराष्ट्र नीतिमा गम्भीर विचलनतर्फ उन्मुख भएको पुष्टि गर्छ ।’
पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले सरकारले असंलग्न परराष्ट्र नीतिलाई औपचारिकतामा मात्र सीमित राखेर व्यवहारमा कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्न लागेको दाबी गरेका छन् । यसो गर्दा नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनता गम्भीर जोखिम र संकटमा धकेलिने उनको ठहर छ।
नेपालको स्वतन्त्रता र असंलग्नतामाथि आँच आउने गरी कुनै शक्ति राष्ट्रको स्वार्थमा अघि बढ्नु देशभक्त नेपालीलाई किमार्थ स्वीकार्य हुनेछैन,’ उनले भनेका छन्, ‘त्यस्तो अवस्थामा सशक्त प्रतिरोध अनिवार्य हुनेछ ।’
श्रेष्ठले सरकारलाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता विरुद्ध हुने कुनै पनि गतिविधि नगर्न कडा चेतावनी दिएका छन् ।