बेपत्ता पाकिस्तानी कार्गो विमानको अवशेष भेटियो, चालक दलको खोजी जारी

 संवाददाता    २०८३, २५ असार बिहीबार १२:२०     10 जनाले पढ़िसके



Spread the love

संयुक्त अरब इमिरेट्सको शारजाहबाट कराँचीतर्फ जाँदै गरेको पाकिस्तानको एक कार्गो विमानको भग्नावशेष अरब सागरमा फेला परेको छ।

यद्यपि विमानमा सवार चालक दलका सदस्यहरूको खोजी तथा उद्धार कार्य भने अझै जारी रहेको छ।

पाकिस्तानी अधिकारीहरूका अनुसार बुधबार अरब सागरमा बेपत्ता भएको निजी कम्पनीको मालवाहक विमानको भग्नावशेष ओरमारा तटबाट करिब ५३ समुद्री माइल दक्षिण क्षेत्रमा भेटिएको हो।

पाकिस्तानी नौसेना र पाकिस्तान समुद्री सुरक्षा एजेन्सीले करिब १२ घण्टासम्म समुद्रमा सञ्चालन गरेको खोजी अभियानपछि विमानको भग्नावशेष फेला पारेका हुन्।

पाकिस्तान विमानस्थल प्राधिकरण (पीएए)ले चालक दलका सदस्यहरूको खोजी तथा उद्धार अभियान अझै जारी रहेको जनाएको छ। प्राधिकरणका अनुसार पाकिस्तानी नौसेना र पाकिस्तानी वायु सेना संयुक्त रूपमा खोजी अभियानमा खटिएका छन्।

अधिकारीहरूका अनुसार मंगलबार राति ९ः२१ बजे रडारमा विमान अचानक तीव्र गतिमा तल झर्दै गरेको देखिएको थियो। त्यसपछि विमानले अप्रत्याशित रूपमा आफ्नो दिशा परिवर्तन गरेको र कराँचीबाट करिब १५५ समुद्री माइल पश्चिम पुगेपछि रडार तथा सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

बेपत्ता भएको विमान बोइङ ७३७ मोडेलको हो, जुन कराँचीस्थित निजी वायुसेवा कम्पनी के–२ एयरवेजको कार्गो विमान रहेको जनाइएको छ।

विमानमा पाँच सदस्यीय चालक दल सवार थिए। उनीहरूमा मोहम्मद रिजवान इद्रिस (मुख्य पाइलट), फैसल महमुद (सह–पाइलट), मोहम्मद तौफिक खान (लोड मास्टर), आरिफ सिद्दिकी (इन्जिनियर) र मोहम्मद हमिद (इन्जिनियर) रहेका छन्।

पाकिस्तानी अधिकारीहरूले चालक दलका सदस्यहरूको अवस्था बारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन्। खोजी तथा उद्धार अभियान निरन्तर जारी रहेको बताइएको छ।