इरानमा विगत दुई दिनदेखि जारी अमेरिकी हवाई आक्रमणमा परी हालसम्म १४ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् । इरानी स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै हताहतीको पुष्टि गरेको हो ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानका ९० भन्दा बढी स्थानलाई लक्षित गरी शक्तिशाली आक्रमण गरिएको छ । इरानी सञ्चारमाध्यमहरूले देशको दक्षिणी तटदेखि उत्तरी प्रान्त गोलेस्तानसम्म विष्फोट र आक्रमणका घटनाहरू भएको जनाएका छन् ।
ओमानको खाडी नजिकै रहेको चाबहार सहरमा विष्फोटपछि विद्युत आपूर्ति अवरुद्ध भएको छ । त्यहाँको एक अस्पतालमा क्षति पुग्नुका साथै समुद्री यातायात नियन्त्रण टावरलाई पनि निशाना बनाइएको छ । यस्तै, दक्षिणपूर्वी सहर इरान शहरको विमानस्थलमा भएको आक्रमणमा एक अग्निनियन्त्रकको मृत्यु भएको छ ।
रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने बन्दर अब्बास र बुसेहर सहरमा पनि ठूला विष्फोटहरू भएका छन् । सिएनएनले पुष्टि गरेको भिडियोहरूमा बन्दर अब्बासको हक्कानी बन्दरगाह नजिकै भीषण आगलागी भएको देखिएको छ।
उत्तरी इरानको गोलेस्तान प्रान्तमा रहेको एक रेलवे पुलमा पनि आक्रमण भएको छ। यद्यपि, अमेरिकाले भने आफूले तटवर्ती क्षेत्रमा मात्रै आक्रमण गरेको दाबी गरेको छ। यता दक्षिण(पश्चिमी खुजेस्तान प्रान्तको अहवाज सहर नजिकै तीन जनाको मृत्यु भएको छ।
पर्सियन खाडीमा रहेका अबु मुसा लगायतका टापुहरूमा पनि आक्रमण भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि बुधबार मात्रै इरानी वायुसेना र नौसेनाका ८ सदस्यको मृत्यु भएको थियो ।
इरानका लागि संयुक्त राष्ट्र संघका राजदूत आमिर सइद इरावानीले अमेरिकी आक्रमणले नागरिक र सैन्य पूर्वाधारहरूलाई लक्षित गरेको भन्दै आपत्ति जनाएका छन् । अमेरिकाले इरानको सैन्य क्षमता नष्ट गर्ने उद्देश्यले यो ‘साल्भो’ (एकैसाथ धेरै प्रहार) चलाएको बताएको छ ।