यसअघिका सहमतिको कार्यान्वयनसहित शिक्षा ऐन जारी गरिनुपर्ने प्रमुख मागसहित अनिश्चितकालीन हड्तालमा उत्रिएका शिक्षकहरूको आन्दोलनको आज १०औँ दिन पुगेको छ।
२० चैतबाट सुरु काठमाडौँकेन्द्रित आन्दोलनलाई निरन्तरता दिँदै आज पनि शिक्षकहरू माइतीघर मण्डलमा धर्ना बसेका छन्।
‘गोजीमा शिक्षा ऐन बोकेर मात्रै फर्कने’ भन्दै धर्नामा बसेका उनीहरू सडकमै नाचगान गरेका देखिन्छन्।
यसबीचमा वार्तामा आउन सरकारले पटक पटक आग्रह गरिसकेको छ। हिजो शिक्षकका प्रतिनिधि शिक्षा मन्त्रालयमा मन्त्रीस्तरीय छलफलमा समेत पुगेका थिए। तर, त्यसबाट कुनै ठोस निचोड भने निस्किएन।
बरु, ऐनका बारेमा शिक्षा मन्त्रालयको धारणा स्पष्ट पार्न भन्दै शिक्षामन्त्रीलाई सम्बोधन गरिएको २४ बुँदे पत्र बुझाए। सोही क्रममा शुक्रबार पुन: बस्ने गरी छलफल सकिएको थियो।